७ वर्षीय छोरीको हत्या गर्ने बाबु पक्राउ, सजायबाट बच्न छोरीले आत्महत्या गरेको नाटक
७ वर्षकी छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । छोरी अंशुकुमारी सर्राफको हत्या गरेको आरेपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका २९ वर्षका सञ्जय सर्राफ भन्ने सञ्जयकुमार साह सोनार पक्राउ परेका हुन् ।
गत २०७६ चैत ११ गते अंशुले घरको माथिल्लो कोठाको भित्तामा गाडिएको किलामा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई आएको थियो । झुण्डिरहेको अवस्थामा बाबु सञ्जयले देखेर पासो खोली तत्कालै नारायणी अस्पतालमा पुर्याएको र अस्पतालले मृत घोषणा गरेको दाबी गरिएको परिवारको भनाइ थियो ।
२०७७ वैशाख ४ गते सञ्जयलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अंशुले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताएका छन् ।अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सञ्जयले हत्या गर्ने नियतले नभई छोरीलाई तर्साउने उद्देश्यले घाँटी थिचेको तर, उनको मृत्यु भएको थियो।
छोरीको मृत्यु भएपछि झस्केका सञ्जयले आफू सजायबाट बच्नका लागि छोरीले आत्महत्या गरेको भनी नाटक रचेका थिए । प्रारम्भिक बयानमा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।