मकवानपुरमा विदेशबाट आउनेहरु स्वास्थ्य परीक्षण गराउँदै

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार १५:४१
;

मकवानपुर जिल्लामा विदेशबाट फर्किएकाहरू क्रमशः स्थानीय तहहरूको सम्पर्कमा खुलेर आउन थालेका छन् ।जिल्लामा कोरोना भाइरस संक्रमणको परीक्षणका लागि र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गराउन सुरु भएसँगै चैत महिनामा विभिन्न देशबाट फर्किएकाहरू स्थानीय तहमा गएर स्वास्थ्य परीक्षणका लागि नाम लेखाउन थालेका छन् । 

‘आरडीटी परीक्षण पालिकाहरूमा हुन थालेसँगै घरभित्रै लुकेर बसेका विदेशबाट फर्किएकाहरू परीक्षणका लागि आउन थालेका छन्’, जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले विदेशबाट फर्किएको भनेर नाम लेखाउनको संख्या बढेसँगै आरडीटी किट मकवानपुर जिल्लामा अपुग हुने भएको छ ।

जिल्लामा रहेका १० स्थानीय तहबाट पहिलो चरणमा ४ सय जनाको मात्र विदेशबाट फर्किएर रहेको भन्दै उनीहरूको नाम जिल्ला स्वास्थ्य कार्यालयलाई बुझाएका थिए। अहिले उक्त संख्या बढेर ६ सय पुगेको छ । ‘पालिकाहरूले वडामार्फत नाम टिपाउँदा ४ सय मात्र रहेको बताइएको थियो । तर, अहिले दैनिक बढिरहेको छ । हामीले यस विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयलाई जानकारी गराएका छौं । थप किट आउन केही समय लाग्ने बताइएको छ’, उनले भने । विदेशबाट फर्किएका पालिकाको सम्पर्कमा रहेर परीक्षणका लागि आउनु सकारात्मक भएको स्वास्थ्यकर्मीको टिप्पणी छ ।

‘वडा कार्यालयमार्फत विदेशबाट फर्किएकाको तथ्यांक संकलन गर्दा गाउँपालिकाभरीमा २० जनाको मात्र रहेको बताइएको थियो । तर, अहिले बढेर ४० जना पुगेको छ’, भीमफेदी गाउँपालिका उपप्रमुख पार्वती रानाले बताइन्। अनुसार गाउँमै आरडीटी परीक्षण गरिएसँगै अहिले विदेशबाट आएर घरमै लुकेर बसिरहेका थप २० जनाले आफैं नाम लेखाउन गाउँपालिकैमा आएको उनले बताइन् । यसैगरी मकवानपुरको कैलाश गाउँपालिकामा पहिला ६ जनाले नाम टिपाएको भए पनि अहिले २० जनाभन्दा बढी पुनः सम्पर्कमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘गाउँपालिकाबाट विदेशबाट फर्किएकाहरू थप सूची आउने क्रम जारी रहेको छ’, स्वास्थय कार्यालय प्रमुख उपाध्यायले भने।

प्रदेश सरकारले उपलब्ध गराएको ३ सय वटा आरडीटी किटबाट मकवानपुरमा एन्टीबडी परीक्षण सुरु भएको थियो। हालसम्म २ सय ८२ जनाको परीक्षण भइसकेको छ । अझै मकवानपुरको राक्सिराङ गाउँपालिकामा परीक्षण गर्न बाँकी रहेको छ । ‘यसैहप्ताभित्र जिल्लाको दोस्रो चरणको समेत परीक्षण सम्पन्न गर्ने योजनामा हामी रहेका छौं । आवश्यक किट हामीले प्रदेशसँग माग गरिसकेका छौं’, उपाध्यायले भने ।

उनका अनुसार स्रोत साधान र दक्ष जनशक्तिको अभावमा आरडीटी परीक्षण तीव्र रूपमा अगाडि बढाउन नसकिएको हो। ‘हामीसँग जम्मा दुईजना मात्र जनशक्ति रहेका छन् । उहाँहरूले मात्र परीक्षण गरिरहनु भएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीईको पनि कमी छ। नयाँ सामग्री पनि छैन । त्यसकारणले गर्दा हामीले चाहेर पनि छिट्टो गर्न सकेका छैनौं ।’ मकवानपुरमा पहिलो चरणमा क्वारेन्टाइनमा रहेका र विदेशबाट फर्किएर आएकाहरूको मात्र परीक्षण भइरहेको छ । 

स्रोतः कान्तिपुरदैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*