उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय
उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका भारतीय लगायतमा २४ जनामा कोरोनाभाइरस संक्रमणको पुष्ट भएको छ । नेपाली सेनाको सहयोगमा मस्जिद वरपर रहेको बस्तीमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण भइरहेको जनाईएको छ ।
पैदल हिँडेर आएकाहरुलाई पनि सम्बन्धित स्थानीय तहमा बुझाएर क्वारेन्टाइनमा बस्न लगाएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी बताएका छन् । जिल्लाका अन्य क्षेत्र र अन्य जिल्लामा संक्रमण फैलिन नदिन थप कडाई गरिएको उनले बताएका छन् ।