पाइलटको तलब ५० प्रतिशतसम्म कटौती गर्ने

हेटौडा न्युज
११ बैशाख २०७७, बिहीबार १५:०२
;

नेपाल वायु सेवा निगमले आफ्ना पाइलटहरुको आधारभूत तलबमा ५० प्रतिशतसम्मको कटौति गर्ने भएको छ। निगम व्यवस्थापन पक्षको गत आइतबार बसेको बैठकले विदेशी पाइलटहरुको ५० प्रतिशतसम्म र करारमा रहेका नेपाली पाइलटहरुको हकमा ३३ प्रतिशतसम्म तलब कटौति गर्ने निर्णय गरेको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। विदेशी पाइलटहरुको हकमा भने १० हजार डलर भन्दा बढि तलब पाउनेहरुको ५० प्रतिशतसम्म र १० हजार डलर भन्दा कम तलब पाउनेहरुको ४० प्र्रतिशतसम्म तलब काटिने भएको छ।

अर्को निर्णय नभएसम्म बैशाख, जेठ र असार महिनाका लागि उक्त निर्णय गरिएको हो। विदेशी पाइलटहरुको भने अप्रिल, मे र जुन महिनासम्मको तलब काटिने छ। हाल निगममा १५ जना विदेशी पाइलट र २७ जना करारमा नियुक्त नेपाली पाइलट कार्यरत रहेका छन्। कोभिड १९ का कारण लकडाउनसँगै सम्पूर्ण उडान रोकिएपछि निगमले दोस्रोपटक तलब कटौतिको निर्णय गरेको हो। यसअघि चैत्र महिनामा विदेशी पाइलटहरुलाई दुईहप्ता र करारमा रहेका नेपाली पाइलटहरुलाई १० दिन बेतलबी बिदा दिइएको थियो। एयरहोस्टेजहरुलाई पनि चैत्र महिनामा १० दिन नै बेतलबी बिदा दिइएको प्रवक्ता खड्काले बताइन्। हाल निगममा २ वटा न्वारो बडि, २ वटा वाइड बडि, ४ वटा एमए ६०, ४ वटा वाइ १२ इ र २ वटा ट्वीनेटरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेका छन्।

कोरोनाका कारण वैशाख १८ गतेसम्मका लागि सम्पूर्ण उडान बन्द भएको भएपनि कहिलेस्थिती सामान्य हुने र थन्किएका जहाजले उडान भर्न पाउने टुङ्गो नभएका कारण तलब कटौतिको निर्णय गरिएको बताइएको छ। लकडाउन यता, निगमले ४ वटा कार्गो उडान र २ वटा यात्रुका लागि चार्टर्ड उडान भने गरेको छ।

निगमले आफ्ना उडान भन्दा पनि अन्तर्राष्ट्रिय उडान वापतको ग्राउन्ड हेन्डिलिङबाट ठूलो राजस्व पाउने गरेको थियो। नियमित अवस्थामा दैनिक ६५ वटा सम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको थियो । उडान रोकिएपछि ग्राउन्ड हेन्डिलिङ वापतको रकम नउठ्दा दैनिक करिब १ करोड रुपैयाँसम्म निगमलाई घाटा हुने गरेको बताइन्छ ।
स्रोतः अन्नपूर्ण पोष्ट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*