विष सेवन गर्दा आमाछोरीको मृत्यु
घरायसी विवादमा विष सेवन गर्दा आमाछोरीको मृत्यु भएको छ । श्रीमानसँग सामान्य विवादपछि छोराछोरीसँगै आमाले विष सेवन गर्दा आमाछोरीको मृत्यु भएको र छोराको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मौलापुर नगरपालिका– १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो र ७ वर्षीया छोरी सोनिकुमारीलाई विष सेवन गराई आफूले पनि सेवन गरेको जनाएको छ ।
विष सेवन गरेर गम्भीर अवस्था भएपछि तीनैजनालाई मौलापुरको एक निजी क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्सबाट नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको थियो ।
उपचारको क्रममा आमा र छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी नायव निरिक्षक आमोदप्रसाद यादवले जनाएको छ । छोरा दीपकको भने उपचार भइरहेको र अवस्थामा सुधार भइरहेको उनले बताए । उहाँका अनुसार मंगलबार दिउँसो घरमा मृतकको माइलो छोरा र मृतक छोरी बीचमा खेल्ने क्रममा झगडा भएको थियो ।
मृतक दुवैजनाको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।
यो समाचार रोतहटका सञ्चारकर्मी अनमोलको कार्कीको सहयोगमा तयार पारिएको हो ।