क्वारेनटाइनबाट २ सय ५९ जना घर फर्किए
रौतहटका विभिन्न क्वारेनटाइनबाट २ सय ५९ जना घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका क्वारेन्टाईबाट बुधबारसम्ममा २ सय ५९ जना घर फर्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत किरणनिधी तिवारीका अनुसार भारत तथा अन्य देशहरुबाट नेपाल फर्किएकाहरुलाई अनवार्य क्वारेनटाइनमा राखिने गरिएको छ । क्वारेनटाइनमा बस्ने समय पुरा भएपछि परिक्षण पश्चात घर फर्काइने गरेको उनले बताएका छन् ।
जिल्लाका क्वारेन्टाइनमा अझैपनि १४ महिला सहित १ सय ८७ जना रहेको बताउँदै क्वारेनटाइनबाट विदा भएकाहरुलाई सम्बन्धित स्थानिय तहले स–सम्मान राहत दिएर बिदा गर्ने गरेको जनाईएको छ । इशनाथ नगरपालिकाले पनि जनता मावि औरैयाका क्वारेनटाइनमा रहेका २५ जनालाई कोरोना परिक्षण पश्चात नेगेटिभ रिर्पोट आएपछि घर फर्काएको थियो । सोही क्वारेनटाइनमा बस्दै आएका एकजना १९ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको नारायणी उपक्षेत्रिय अस्पताल बिरगंजमा उपचार भइरहेको छ ।
यता जिल्लाका विभिन्न तहमा रहेका जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म ८ सय ५१ वटा क्वारेनटाइन बेडहरु रहेका छन् । सो तथ्याङ्क अनुसार जिल्लामा हालसम्म १ सय ६२ जनाको स्वाव संकलन गरि पिसिआर विधिद्धारा गरिएको परिक्षणमा एकजनाको रिर्पोट पोजेटिभ आएको छ भने अन्य सबैको नेगेटिभ आएको छ । त्यसै गरि ३ सय ७१ जनाको आरडिटि विधिद्धारा गरिएको परिक्षणमा सबैको नजिता नेगेटिभ आएको छ ।
यसैबीच स्थानिय प्रशासनले नेपालका विभिन्न भूभागबाट रौतटह हुँदै भारत जान खोज्ने भारतिय नागरिकहरुलाई पनि क्वारेनटाइनमा राख्न थालेको छ । हिजो र आज गरेर ४८ जना भारतिय नागरिकहरु जिल्लाका विभिन्न क्वारेनटाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिएका छन् ।
यो समाचार रौतहटका सञ्चारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।










