६ वर्षीय बालिकामाथि बलात्कार, दुबै आँखामा गम्भीर चोट
भारतको मध्य प्रदेशमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बालिकाको दुबै आँखामा गम्भीर चोट पनि देखिएको छ । घटना दमोह जिल्लाको जबेरा थाना क्षेत्र अन्तर्गत बंशीपुर गाउँको हो ।
घाइते बालिकालाई सुरुमा दमोह जिल्ला अस्पताल पुर्याइएको थियो त्यसपछि उनलाई मेडिकल कलेज जबलपुर रिफर गरियो । बालिकाले अभियुक्तलाई चिन्न नसकोस् भनेर उनको आँखामा क्षती पुर्याएको हुनसक्ने अनुमान गरिएको छ ।
पुलिसका अनुसार बालिका बुधबार बेलुका आफ्ना साथीसँग खेलिरहेका बेला गायब भएकी थिइन् । बालिकाको रातभरी खोजी गरियो तर बिहिबार बेलुका बालिकालाई एक सुनसान स्थानमा भेटिएको थियो । उनको दुबै हात बाँधिएको थियो ।
दमोह पुलिस अधिक्षक हेमन्त चौहानले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘बालिकाको शरीरको अन्य भागमा पनि चोट देखिएको छ । यो मामलामा सचिन सेन नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ जसको उमेर २१ वर्ष हो ।’ पुलिसले उनीसँग सोधपुछ गरिरहेका छन् ।
बालिकाको आँखा पूर्ण रुपमा खराब भए नभएको अहिले नै थाहा पाउन मुश्किल भएको हेमन्त चौहानले बताए ।
उनले भने, ‘उनको दुबै आँखा सुन्निएको छ जसमार्फत् थाहा हुन्छ कि उनको आँखामा कति धेरै क्षती पुर्याइएको छ ।’
स्रोतः रातोपाटी