विभिन्न नाकाबाट प्रदेशभित्र प्रवेश गर्नेलाई स्यानिटाइज गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

हेटौडा न्युज
१३ बैशाख २०७७, शनिबार १३:२६
;

बागमती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न नाकाबाट बागमती प्रदेश प्रवेश गर्ने जोकोहीलाई पनि अनिवार्यरुपमा स्यानिटाइज गर्न निर्देशन दिएका छन् । 

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश २ बाट बागमती प्रदेशको राजधानी हेटौँडा भित्रिने यात्रुलाई स्यानिटाइज गर्न हेटौँडा उपमहानगरपालिकाले जडान गरेको स्वचालित स्यानिटाइजर मेशिनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त काम स्थानीय तहले गर्नुपर्ने र प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन् ।

उनले स्यानिटाइजरका लागि स्वचालित मेसिन प्रभावकारी हुने बताएका छन् । मुख्यमन्त्री पौडेलले प्रदेशका अत्यावश्यक सेवा दिनुपर्ने विभिन्न स्थानमा तत्काल यस्तै स्वचालित उपकरण जडान गरिने उल्लेख गरेका छन् ।

 वडा नम्बर १५ रातोमाटेमा जडान गरिएको अटोमेटिक स्यानिटाइजर मेशिनको मुख्यमन्त्री पौडेलले शुक्रबार शुरुआत गरेका हुन् । उक्त मेशिनको प्रयोग गरेर पूर्वपश्चिम राजमार्गबाट रातोमाटे हुँदै हेटौँडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्यरुपमा स्यानिटाइज गरिने जनाइएको छ ।

एक पटकमा चार जनासम्मलाई स्यानिटाइज गर्न सकिने भए पनि भौतिक दूरी कायम गरी स्यानिटाइज गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिएका छन् । 

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त स्वचालित स्यानिटाइजर उपकरण २०० लिटर क्षमताको रहेको र दुई हजारलाई स्यानिटाइज गर्न सकिने जनाईएको छ । उपकरणको मूल्य रु एक लाख ६० हजार पर्ने बताइएको छ ।

आफूहरूले निर्माण गरेको स्वचालित स्यानिटाइजर मेसिन प्रभावकारी रहेको र चितवनमा पनि यो प्रविधि जडान गरिएको उत्पादक संस्था नेपाल युवा उद्यमी मञ्चले जानकारी दिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*