एक हजार बढी मानिस जिल्ला भित्रिए, क्वारेन्टाइनमा नबस्दा जोखिम
काठमाडौं लगायत विभिन्न क्षेत्रबाट गाँउ फर्काइएका मानिसहरू क्वारेन्टाइनमा नबसेपछि जाजरकोटमा कोरोना संक्रमणको जोखिम बढेको छ । लामो लकडाउनले अलपत्र परेको भन्दै चार दिनअघि करीब एक हजार बढी मानिसहरू फर्काइए पनि कोही क्वारेन्टाइनमा नबस्दा कोरोना संक्रमणको जोखिम बढेको हो ।
अलपत्र परेको भन्दै पहुँचवाला नेताहरूले अनुमति पास गराइदिएपछि मंगलबार, बुधबार र बिहीबार काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट गाडीमा ठेलमठेल गरेर अलपत्र परेका विद्यार्थी, मजदुर कर्मचारी लगाएतका जिल्ला भित्रिएका हुन् ।
त्यसरी आएकाहरुलाई गाडीले सदरमुकामसम्म छोडिदिएपनि खानाको व्यवस्था नहुँदा भोकभोकै भारी र साना नानीलाई काखमा च्यापेर पैदलै घर जान बाध्य भएका छन् । बाहिरी क्षेत्रबाट आएकाहरुको परीक्षणसमेत नगरेर घर पठाउँदा थप जोखिम हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
क्वारेन्टाइनमा बस्ने भनेर आएकाहरू समेत नबस्दा स्थानीयले विरोध गरेका छन् ।











