सार्वजनिक बाटो रोक्ने मुख्यमन्त्री पौडल, आफ्नै अडानबाट पछि हटे
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो सरकारी निवास अगाडीको बाटोबाट अत्यावश्यक सवारी चल्ने दिने भएका छन् । कोरोना संक्रमणको डरले मुख्यमन्त्री पौडेलले मकवानपुर प्रहरीलाई आफ्नो सरकारी निबास अगाडिको बाटोबाट कुनैपनि सवारी साधन चल्न नदिन आदेश दिएपछि प्रहरीले सोही आदेशको पालना गर्दै अत्यावश्यक सवारी साधन समेत रोक्ने गरेको थियो ।
सार्वजनिक बाटोसमेत मुख्यमन्त्रीले रोकेको भन्दै चौतर्फी विरोध भएपछि मकवानपुरका संचारमाध्ययमहरुले उक्त विषयमा समाचार प्रकाशन गरेका थिए । समाचार प्रशासन पश्चात त्यहाँबाट प्रहरी हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवत्ता सुजन पाठकले हेटौँडा न्यूजलाई जानकारी दिए ।
उनले भने – बजार खुल्ने समय विहान ६ देखि ९ बजेसम्म प्रहरी मुख्यमन्त्री पौडेलको सरकारी निवास अगाडि भिड नियन्त्रणका लागि बस्नेछन्, त्यसपछि प्रहरीले सोहीबाटो हुँदै चल्ने अत्यावश्यक सवारी साधनलाई कुनै अवरोध गर्ने छैन ।
यसअघि प्रहरीले दिउँसो उक्त बाटो हुँदै कुनैपनि सवारी साधन चल्न दिने गरेको थिएन । प्रवक्ता पाठकका अनुसार आजैबाट दिउँसोको समयमा सो स्थानमा डिउटीमा बसेका प्रहरीहरुलाई हटाइएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री पौडेललेनै उक्त बाटो रोक्न आदेश गरेको र चौतर्फी दवाब सिर्जना भएपछि उनी आफैँले प्रहरीलाई हट्न आदेश गरेका हुन् ।