बाहिर कारोनाको त्रास, क्वारेन्टाइनमा औलो र डेंगू

वैशाख महिना सुरु भएसँगै गर्मी बढेकाले विभिन्न कीटजन्य रोगहरु विशेषगरी औलो, स्क्रब टाइफस जस्ता रोगको जोखिम देखा पर्न थालेका छन् । देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसिरहेकाले लामखुट्टेको टोकाइबाट सुत्नै नसकिने गुनासो गरिरहेका छन् ।
देशमा कोरोनोको जोखिम भइरहेका बेला यस्ता रोगहरु पनि बढ्न सकिने भएकाले विज्ञहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलोको परीक्षण गर्दा पोजिटिभ देखिएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा परीक्षण गर्दा औलो पोजिटिभ देखिएको बताउँदै क्वारेन्टाइनमा विशेष ध्याान र गुणस्तरमा वृद्धि गर्दै जानुपर्ने बताए।
मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङमा हालसम्म क्वारेन्टाइनमा १४ हजार ७ सय ३१ जना रहेको बताएको छ । देवकाटाले लकडाउनको अवस्थामा महिला र बालिबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाउन सावधानी अपनाउनुपर्ने सुझाव दिए।
यद्यपि क्वारेन्टाइनमा बसेका कति जनामा औलोको संक्रमण देखिएको हो भन्ने विषयमा मन्त्रालयले जानकारी दिएको छैन। नेपालमा हरेक वर्ष यो रोग देखा पर्छ। नेपालले सन् २०२५ सम्म औलो मुक्त देश घोषणा गर्ने लक्ष्य लिएको छ।
नेपालमा वर्षेनी एक हजार औलो रोगी भेटिने सरकारी तथ्यांक छ ।