बागमती प्रदेशका मुख्यमन्त्री पनि अचानक काठमाडौंमा
नेकपाभित्र शक्ति बाँडफाँडको मुद्दा प्रवेशगरेसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि अचानक काठमाडौं प्रस्थान गरेका छन् ।
सोमवार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमूहबीचको वार्तामा ओलीसमूहका नेताले विवाद समाधानका लागि मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेरको प्रस्ताव अगाडि सारेको थियो । यो प्रस्ताव सार्वजनिक भएलगत्तै सोमवार साँझ मुख्यमन्त्री पौडेल काठमाडौं हिँडेका हुन् ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल शुक्रवार नै काठमाडौं गएका थिए । कोरोना रोकथाम, नियन्त्रण र निर्देशनमा जुटेका मुख्यमन्त्री पौडेलको काठमाडौं यात्रालाई चासोपूर्वक हेरिएको छ । मुख्यमन्त्री पौडेल नेकपा नेतृत्वसँग छलफल र वास्तविकता बुझ्नका लागि काठमाडौं गएको स्रोतले दाबी गरेको छ ।
अहिले मुख्यमन्त्री पौडेल नेकपा नेतृत्वसँग छलफलमा जुटेको र आज (मंगलबार) साँझसम्म छलफलमा उठेका कुराकानीबारे थाहा हुने नेकपा जिल्ला कमिटीले जनाएको छ ।
स्रोत: नयाँ पत्रीका दैनिक