स्थानिय प्रशासनद्वारा संक्रमित भेटिएको क्षेत्र सिल

रौतहटमा थप दुइ जनामा कोरोना संक्रमण भेटिएपछि स्थानिय प्रशासनले संक्रमित भेटिएका इलाका सिल गरेको छ । वृन्दावन नगरपालिका–९ भुसाहा एक र देवाही गोनाहीनगरपालिका–१ नहरटोल जिल्ला प्रशासन कार्यालय रौतहटले सिल गरेको हो ।
चन्द्रपुर क्वारेन्टाइनमा रहेको वृन्दावन नगरपालिका–९ भुसाहा टोलका २५ वर्षिय एक व्यक्तिको प्रादेशिक ल्याव जनकपुर कोरोना नेगेटिभ आए पश्चात बैशाख ६ गते छोडिएकोमा काठमाडौंको शुक्रराज सरुवा रोग अस्पतालको ल्यावमा पुनः परिक्षण गर्दा पोजेटिभ देखाएको थियो । उनी चैत्र १७ गते भारतबाट घर आइ २२ गतेदेखि क्वारेनटाइनमा राखिएको थियो । उनी विगत १० दिन देखि घर परिवारमा बसेको बस्दै आएकाले उनको घर परिवार तथा समुदायमा समेत संक्रमण हुन सक्ने सम्भावना देखिएकाले सो इलाका सिल गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
त्यस्तै देवाही गोनाही नगरपालिका–१ का क्वारेन्टाइन बस्दै आएका ३५ वर्षिय पुरुषमा पनि संक्रमण देखिएकाले उनी बस्दै आएको इलाका सिल हो।
स्थानिय प्रशासनले बृन्दावन नगरपालिका–९ भुसाहाको दक्षिणमा भिम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँको चारै किल्ला भित्रको इलाका र देवाही गोनाही नगरपालिकाको–१ नहरटोलको पूर्वतर्फ कन्जुल मस्जीद, पश्चिममा लाल बकैया नदीको नहर, दक्षीणमा नहर (मन) र उत्तरमा खेसरहिया गाउँको चारै किल्ला भित्रको इलाका पूर्ण रुपमा सिल गरेको प्रमुख जिल्ला अधिकारी घिमीरेले बताए ।
सिडिओ घिमीरेका अनुसार सील गरिएको इलाकावाट कुनै पनि ब्यक्ति बाहिर निस्कने र अन्यत्रवाट सील गरिएको इलाकामा प्रवेशमा रोक लगाइएको र सो प्रतिवन्धित कार्य गरेमा कानून बमोजिम कडा कारवाही गरिने बताए ।
संक्रमित दुबैजनालाई बिरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा लगिएको छ ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।











