कोरोना पोजेटिभलाई नेगेटिभ देखाउने जनकपुरको पिसीआर मेशिन बन्द

कोरोना परीक्षण गर्दा गलत रिजल्ट आएको भन्दै जनकपुरमा रहेको पिसीआर परीक्षण बन्द गरिएको छ । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सो मेसिनले पोजेटिभ नतिजालाई पनि नेगेटिभ देखाउँदा झन् जोखिम बढेकाले बन्द गरिएको बताएका छन् ।
सर्लाहीका १ जना १४ बर्षका किशोर र रौतहटका २ जना युवकको परीक्षण गर्दा नेगेटिभ देखिएको तर, सोही व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएको थियो ।
केही दिन पहिले सर्लाहीका किशोरको नतिजा आउँदा देखि नै मेशिनको गुणस्तरीयतामाथि प्रश्न गरिएको थियो । गएको शनिबारदेखि अस्थायी बन्द भएकोमा हिजो रौतहटका २ जनामा पनि त्यस्तै समस्या आए पछि सो मेशिनबाट परीक्षणको काम पूर्ण बन्द गरिएको छ ।
सो मेशिनबाट हालसम्म एकसय वटा नमूना परीक्षणमा नेगेटिभ देखिएको थियो । नेगेटिभ देखिएका सबैलाई निगरानीमा राखिएको र कोरोनाको कुनै पनि लक्षण देखिए सम्पर्क गर्न आग्रह गरिएको छ ।
जनकपुरको पोर्टेवल पिसीआर मेशिन चीनबाट ल्याईएको हो ।