सात जना कोरोना संक्रमित दिल्लीको मुस्लिमसभाबाट फर्किएको खुलासा
पर्सा र बारामा बुधबार भेटिएका तीन जना कोरोना संक्रामित पनि भारतस्थित दिल्लीको मुस्लिम धार्मिकसभा (तबलिगी जमात) मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ। यसअघि गत आइतबार कोरोनाको पुष्टि भएका वीरगन्जका दुइ मध्ये एक जना संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी भइ घर फर्किएको पुष्टि भएको थियो। त्यसअघि चैत ३० मा वीरगन्जको मस्जिदमा भेटिएका तीन जना भारतीय संक्रमित पनि दिल्लीकै तबलिगी जमातामा सहभागी नेपाल आएर बसेका थिए।
पर्सा र बारामा अहिलेसम्म कोरोनाको संक्रमण पुष्टि भएका पाँच नेपाली र तीन भारतीय गरि आठ मध्ये सात जना दिल्लीको तबलिगी जमातमा सहभागी भइ नेपाल आएको खुलेको वीरगन्जस्थित नेपाली सेनाका चण्डी प्रसाद गणका प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए। बुधबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय, बाराकै सिम्रौनगढ नगरपालिका(४ का ३१ वर्षीय र पर्साको वीरगन्ज महानगरपालिका(२ छपकैयाका ५० वर्षीय गरि तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। बुधबार कोरोनाको संक्रमण पुष्टि भएका बारा र पर्साका तीनै जना संक्रमित मार्च १ देखि १५ सम्म दिल्लीमा भएको तबलिगी जमातमा सहभागी भइ नेपाल फर्किएको खुलेको प्रमुख सेनानी राणाले जानकारी दिए। राणाका अनुसार , संक्रमितहरुको ट्राभल हिष्ट्री अध्ययन गर्दा उनीहरु मार्च ६ मा दिल्ली गएर धार्मिक सभामा सहभागी भई मार्च ११ अर्थात गत फागुन २८ गते नेपाल फर्किएका हुन्। यसअघि गत आइतबार वीरगन्जमा भेटिएका २ संक्रमितमध्य वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय संक्रमितसँगै बुधबार कोरोना पुष्टि भएका तीन जना संक्रमित पनि दिल्लीको तबलिगी जमातमा गएर नेपाल फर्किएको राणाले जानकारी दिए।
गत आइतबार वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय गरि दुइ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि सेनाले ती दुवै संक्रमितको ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरेको थियो। त्यसक्रममा ९१ जनाको स्वाब संकलन गरि पिसिरिआर परिक्षणका लागि सोमबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। बुधबार काठमाडौंको प्रयोगशालबााट प्राप्त ९१ जनाको रिपोर्टमध्य बारा र पर्साका तीन जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।
अन्नपुर्ण पोष्टमा खबर छ ।