हेटौंडाको मणी खाद्यान्नमा प्रशासनको शील, तौल कम भएको प्रमाण नष्ट गर्दागर्दै भेटियो
आज गरेको अनुगमनको क्रममा कम तौल भेटिएको चामलको बोरालाई टोलीले बेग्लै राख्न निर्देशन गरेको थियो । तर सञ्चालक अधिकारीले कार्वाहीबाट जोगिन अनुमगन टोलीलाई छक्याउँदै कम तौल भएका सबै बोराको शील तोड्न लगाएको भेटिएको थियो ।
अनुगमन टोली घटनास्थल सर्जमिन लेख्न व्यस्त भएको बेला आफ्ना कर्मचारीलाई बोराको शील खोल्न लगाउँदा लगाउँदै अनुगमन टोलीले फेला पारेको थियो । अनुगमन टोलीले बोरा खोल्न प्रयोग गरिने ब्लेड, सिलाई मेशिन फेला पारेको भएपनि ती सामग्री जफत भने गरेन ।
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ४ को दफा १६ को उपदफा २ क अनुसार यस्ता कसूर गरेमा २ लाख देखि ३ लाख रुपैया सम्म तत्काल जरिवाना हुने व्यवस्था छ । यस विषयमा अनुगमन टोली कै अगाडी शील खोलेर प्रमाण नष्ट गर्न उद्दत हुनु फौजदारी आचारसंहिता विपरितको कार्य भएकोले यस्ता कार्य गर्नेलाई हदैसम्मको सजाय हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा अनुगमन टोलीका सदस्य बासुप्रसाद खतिवडाले बताएका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दीपकप्रसाद नेपालले अनुगमन टोलीको प्रतिवेदन अनुसारको कार्वाही गर्ने प्रतिवद्धता जनाएका छन् । अनुगमन टोलीले आज ४ वटा खाद्य स्टोरमा अनुगमन गरेको थियो ।