लागू औषधसहित मकवानपुरमा २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध सहित हिजो २ जनालाई पक्राउ गरेको छ । गएराति करीब ९बजे इलाका प्रहरी कार्यालय, पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुश्वाहाको प्रहरी टोलीले रक्सौलतर्फबाट काठमाण्डौतर्फ जाँदै गरेको ना३ख ६४६६ नम्बरको डिजेल लोड रहेको ट्याङकरलाई रोकी चेकजाँच गर्ने क्रममा तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई ल्याएको लागूऔषध WINCIREX 100 को १ सय ५५ वटा बोतल फेला पारेको जनाएको छ ।
प्रहरीले लागूऔषध सहित ट्याङकर चालक मकवानपुर थाहा नगरपालिका–४ का बर्ष ३३ को मानबहादुर थोकर र लागूऔषध ओसारपसारमा संलग्न मकवानपुर हेटौंडा–४ बस्ने बर्ष ४५ को सेते लामालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राऊ परेका उपर लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र र १ लाखदेखि २० लाख रुपैयासम्म जरिवाना र सवारी साधन समेत जफत हुन सक्ने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन् ।