कोरोना निको भएर घर फर्किएको एक सातापछि पुनः अस्पताल भर्ना
रौतहटका कोरोना संक्रमित एक युवक उपचारपछि निको भएर घर फर्किएको एक साता पछि पुनः अस्पताल भर्ना भएका छन् । कोरोनाको उपचारपछि निको भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका–१९ वर्षीय ती युवकको रिपोर्ट शंकास्पद देखिएको भन्दै बीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बैशाख २ गते नारायणी अस्पताल भर्ना गरिएको थियो । आइशोलेनशमा १२ दिनसम्म राखिएका उनको पीसीआर परीक्षणको तेश्रो ,चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि बैशाख १४ गते डिस्जार्च भएका थिए ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले उनमा थप परीक्षण गर्नुपरेकाले अस्पताल भर्ना गरिएको बताए ।
बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको र रिपोर्ट शंकास्पद देखिएको जनाइएको छ । बैशाख १४ मा उनीसंगै भारतका तीन जना जमातीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।










