वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

वीरगञ्जमा थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ ।
उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको छ ।
संक्रमितका बुवाले उनी लकडाउनको समयदेखि नै घरमै रहँदै आएको बताएका छन् । रोजा बस्ने र नमाज घरमै पढ्ने गरेको उनको भनाइ छ ।
उनको परिवारमा १७ जना सदस्य छन् । स्थानीय प्रशासनले परिवारका सदस्यलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । तीन जना जमातीमा संक्रमण भेटिएपछि सिल गरिएको छपकैयाँ क्षेत्र शनिबार मात्रै खोलिएको थियो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।