सरकारी वकिलको कार्यालयमा सांसद बस्नेत, श्रेष्ठ र पुर्व आइजीपी खनालविरुद्ध अपहरणको जाहेरी दर्ता
सरकारी वकिल कार्यालायले पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी दर्ता गरेको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, बबरमहलमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएको हो ।
सांसद बस्नेत, श्रेष्ठ तथा पूर्वआइजीपी खनालले सांसद यादवलाई गत बैशाख १० गते महोत्तरीबाट काठमाडौंसम्म अपहरण गरि ल्याएको आरोप छ । यसअघि सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगे पनि जाहेरी दर्ता भएको थिएन । तर, सोमवार अपहरणको जाहेरी दर्ता भएको एक अधिवक्ताले जानकारी दिए ।
यसअघि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए । साथै सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालले आजैमात्र मानवअधिकार आयोगमा आफूहरु निर्दोष रहेको भन्दै जीवन रक्षाको माग गर्दै उजुरी दर्ता गराएका छन् ।