तत्काल विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले निर्देशन
देशभरका विद्यालयलाई तत्काल कुनै पनि तहमा नयाँ भर्ना नलिन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गरी नयाँ भर्नासँगै अनलाइन पठनपाठनका नाममा बैंक खातामा रकम जम्मा गर्न लगाउने काम नगर्न निर्देशन दिएको हो ।
जारी लकडाउन कै बिच केही दिनयता केही निजी विद्यालयले अनलाइनमार्फत विद्यार्थी भर्ना लिन थालेका थिए । त्यस्तै, सरकारी विद्यालयले पनि आफैँ उपस्थित भएर वा टेलिफोन सम्पर्कमार्फत भर्ना लिन सुरु गरेका थिए ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन जारी रहेको र लामो समयदेखि विद्यालयमा पठनपाठन बन्द रहेको अवस्थामा सरकारले अर्को निर्णय नगर्दासम्म भर्ना र शुल्क लिने काम बन्द गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ का परीक्षाहरू स्थगित रहेको र अब के गर्ने भन्ने सन्दर्भमा अध्ययन भइरहेको पनि जनाएको छ ।
यससँगै शिक्षा मन्त्रालयले माध्यमिक तहसम्मको आवासबाहेक एक महिनाको सबै शुल्क फिर्ता गर्न पनि निर्देशन दिएको छ । सरकारको निर्णयअनुसार, शुल्क मिनाहा गरी अभिभावक र स्थानीय तहलाई जानकारी दिन निजी विद्यालयलाई निर्देशन दिएको हो ।