लकडाउनकोबारे उच्च स्तरीय समितिले बनायो यस्तो खाका

हेटौडा न्युज
२३ बैशाख २०७७, मंगलवार १४:४८
;

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण देखिएको छ भने १५ जना उपचार पछि निको भएका छन् । 

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि देशभर लकडाउन गरेको छ । पछिल्लो समय थपिएको लकडाउनको मिति बैशााख २५ गते सकिदै छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनले जनजिवन कष्टकर बन्दै गएको छ । कमेहिदिन यता सरकारले लकडाउनको स्वरूप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरिरहेको बताइएको छ । 

सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले सर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकमा संक्रमण जोखिमका आधारमा सिंगो देशलाई रेड, एलो र ग्रिन जोनमा विभाजन गर्ने र सोहीअनुसार लकडाउनलाई केही खुकुलो बनाउन सकिने विषयमा छलफल भएको थियो । जसअनुसार रेड जोनलाई पूर्ण रूपमा सिल गर्ने र ग्रिन जोनमा रहेका जिल्लामा कृषि, पशु तथा त्यससँग सम्बन्धित कारोबार सावधानी अपनाएर खुकुलो बनाउने, मालसामानको ढुवानीलाई सरल बनाउने र अन्य उत्पादनमूलक उद्योग तथा कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ ।

समितिमा भएको छलफलमा निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, भीडभाड हुने बजार, सिनेमा हलहरुलाई तत्काललाई बन्द राख्ने गरी सरकारसमक्ष सिफारिस गर्ने तयारी भएको छ । 

उद्योग, कलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा पनि सावधानी अपनाएर लकडाउन खुकुलो बनाउने गरी खाका तयार पारिएको छ ।

प्रस्तावित खाकाअनुसार सीमा क्षेत्रलाई रेड जोनका रूपमा राखेर आवागमन पूर्ण रूपमा ठप्प पार्ने, देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गर्ने तयारीसमेत गरिएको जनाइएको छ ।

समितिले विभिन्न जोन बनाएर सरकारसमक्ष सिफारिस गर्ने सम्भावना रहेकाले समितिको सिफारिस मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेमा आगामी २६ वैशाखदेखि लकडाउन केही खुकुलो हुन सक्ने बताइएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*