तरकारी नबिके प्रदेश सरकारलाई फोन गर्नुस्

लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारीजन्य सामग्री बिक्री नभएमा प्रदेश सरकारले बिक्रीका लागि समन्वय गर्ने भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला ता कानून मन्त्री शालिकराम जमरकट्टेलले सो कुरा बताएका छन् ।
पछिल्लो समय स्थानीय सहकारीले बिक्रीका लागि भूमिका खेलिरहेको, तर पनि कतै किसानहरुका तरकारी, फलफूल बिक्री हुन नसकेमा आन्तरिक मामिला ता कानून मन्त्रालयको नम्बरमा वा आफूलाई सिधै सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
हेटौंडामा आज एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा उनले आफ्नो व्यक्तिगत मोबाईल नम्बरमा पनि किसानहरुले सिधै सम्पर्क गरेमा तरकारीजन्य सामग्री बिक्रीका लागि समन्वय गरिदिने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश सरकार सदैव किसान मजदूरको साथमा नै रहेको उनको भनाई रहेको थियो । बागमती प्रदेशका मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ्ग जिल्ला तरकारी उत्पादन हुने जिल्लाको रुपमा परिचित छ ।
कोरोना संक्रमणका कारण सरकारले लकडाउन गर्दै अत्याश्यक क्षेत्रबाहेक सबै बन्द गरेको छ । बजार बन्द भएपछि किसानले उत्पादन गरेका कृषि उपज कुहिएर जाने गरेको किसानहरुले गुनासो गर्दै आएका छन् ।










