रेकर्ड राखेर कृषिउपज विपन्नलाई बाँडेमा प्रदेश सरकारले अनुदान दिने

कृषकले उत्पादन गरेका दुग्ध तथा दुग्धजन्य पदार्थ लगत राखेर निःशुल्क रुपमा आफ्नो क्षेत्रका विपन्नहरुलाई वितरण गरेमा सो लगतको आधारमा प्रदेश सरकारले किसानलाई अनुदान उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले पशुपालक कृषकलाई यस्तो आग्रह गरेका हुन् । आज विहान हेटौंडा न्युज डटकमसंगको कुराकानीमा मन्त्री जमरकट्टेलले दुग्धजन्य पदार्थ नष्ट गरेको विषयलाई अंकित गर्दै लगत राखेर निःशुल्क वितरण गरेमा निःशुल्क वितरण गरेको परिमाणको आधारमा अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री जमरकट्टेलले कोरोनाका कारण देश लकडाउनमा रहेकाले उपभोक्ता सम्म खाद्य पदार्थ पुर्याउन कृषकलाई कठिनाइ भएको बारे प्रदेश सरकार जानकार रहेको भन्दै दुग्धजन्य खाद्य पदार्थ पोखेर नष्ट गर्नु भन्दा विपन्न परिवारलाई निः शुल्क वितरण गरी लगत राख्न आग्रह गरेका छन् । उनले प्रदेश सरकारले प्रदेश कृषि मन्त्रालजयसहित सरोकारवालानिकायसँग छलफल गरेर सम्बन्धित कृषकलाई राहतको व्यवस्था हुने बताएका छन् ।
अहिलेको कोरोना सन्त्रासको अवस्थामा सबैले धैर्यताले काम गर्नुुपर्ने बताउँदै कोरोना महामारीबाट जोगिन सबैभन्दा सजिलो र प्रभावकारी उपाय लकडाउनको पालना सबैले गर्नुपर्ने बताएका छन् ।