पान पसलदेखि तरकारी हाटसम्म पुगेका थिए कोरोना संक्रमित

हेटौडा न्युज
२४ बैशाख २०७७, बुधबार १५:४१
;

नेपालगञ्ज उपमहानगरपालिकाको मध्यसहरका कोभिड–१९ संक्रमित व्यक्तिहरू पान पसलदेखि तरकारी हाटसम्म घुमफिर गरेको पाइएको छ । शुक्रबारयता संक्रमण पुष्टि भएका २३ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा उनीहरूले तरकारी खरिद गर्न रानीतलाउ नजिकैको सब्जीमन्डी र उपभोग्य वस्तु किन्न त्रिभुवन चोकसम्म पुग्ने गरेको बताएका हुन् । अधिकांशले पान खान खुरेसी टोल आसपासका पसलमा धाउने गरेको जनाएका छन् ।

लकडाउन भए पनि सब्जीमन्डीमा दैनिक सयौंको भीड लाग्ने गथ्र्यो । मन्डीमा भारतीय व्यापारीले तरकारी आयात गर्दै आएका छन् ।

नेपालगन्ज–८, जोहलनपुर्वा टोलका सात जनामा मंगलबार बिहान संक्रमण पुष्टि भएको थियो । आइतबार त्यही टोलका १५ जनामा संक्रमण देखिएको थियो । नेपालगन्ज–८ को जनसंख्या ४ हजार १ सय छ । उक्त वडामा ‘ट्रेसिङ’ का लागि पुगेका स्वास्थ्यकर्मीले लकडाउनका बेला संक्रमित व्यक्तिले घुमफिर गरेको स्थानबारे जानकारी पाएपछि चिन्ता झन् बढेको प्रतिक्रिया दिएका छन् । उनीहरू आसपासका वडामा समेत पुगेको पाइएको छ । आइतबार एउटै टोलमा धेरै संक्रमित पाइएपछि जिल्ला जनस्वास्थ्यले ती व्यक्तिको सम्पर्कका आधारमा तीन सय जनाको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।

ती व्यक्तिको पहिचान नहुँदै मंगलबार थप भएका संक्रमितले निष्फिक्री घुमफिर गरेको जवाफ दिएपछि चुनौती बढेको छ । ‘संक्रमतिसँग सम्पर्कमा आएका व्यक्तिसँग पनि सोधपुछ गरिरहेका छौं, त्यसैले संक्रमितले भेटेका र आउजाउ गरेका स्थानको पहिचान आवश्यक छ,’ जनस्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले भने, ‘मंगलबार संक्रमण पुष्टि भएका व्यक्तिको आउजाउ रानीतलाउ सब्जीमन्डीदेखि आसपासका टोल र चोकसम्म भएको पाइएको छ ।

उनका अनुसार अहिले संक्रमितसित कुराकानी गरेर सम्बन्ध पत्ता लगाउने प्रयास गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको संख्या बढ्न थालेपछि चिन्ता थपिएको उनले बताए । ‘एक जनामा कोरोना संक्रमण पुष्टि नभएका बेलादेखि उनीहरू एकअर्काको घरमा आउजाउ गर्थे,’ उनले भने, ‘बस्तीनजिकै महेन्द्र पार्क छ । छेउमै घसियारन र कुरेसी टोल छ ।’ घसियारनले घाँस काटेर र पातका दुनाटपरी बनाएर जीविकोपार्जन गर्दै आएका छन् ।

संक्रमितले दिएको जानकारीका आधारमा जनस्वास्थ्यले मंगलबार साँझसम्म नेपालगन्जको भैरवटोलस्थित पान पसल, पन्डन मोहलाको पान पसल, नाउ टोल, रानीतलाउ सब्जीमन्डीका पसल, टाँगा स्ट्यान्डका किराना पसलका सञ्चालकलाई ट्रेसिङ गरिएको जनाएको छ । नेपालगन्ज–८ का वडाध्यक्ष सुरेन्द्र गुप्त वैश्यले सबै संक्रमित एकै वडाका भएकाले यहाँका बासिन्दाको थ्रोट स्वाब परीक्षणको माग गरे । लकडाउनका बेला राहत वितरण गर्दा स्थानीयबीच घुलमिल भएको हुन सक्ने आशंका पनि उनले व्यक्त गरे । ‘कोरोना भाइरसको संक्रमण देखिनु एक दिनअघि (गत बिहीबार) वडामा राहत वितरण गरेका थियौं, राहत लिन संक्रमण देखिएका व्यक्तिहरू पनि आएका थिए,’ उनले भने, ‘त्यसैले वडाका सबै बासिन्दामा कोरोना जाँचका लागि उपमहानगरपालिकासँग आग्रह गरेको छु ।’

त्यसबेलासम्म संक्रमण नदेखिएका कारण राहत वितरणका क्रममा आफूहरूबाट पनि केही कमजोरी भएको उनले बताए । ‘त्यतिबेला संक्रमण देखिएको भए घरमै राहत पुर्‍याउन जान्थ्यौं,’ उनले भने, ‘अहिले वडाभरि सेनिटाइजिङ गरिएको छ ।’ संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानमा सघाइरहेको उनले बताए । ‘संक्रमितको संख्या धेरै हुन सक्छ,’ उनले भने, ‘संक्रमितसित सम्पर्कमा आएका व्यक्तिले आफैं जानकारी दिए सहज हुन्थ्यो ।’

मंगलबार गरिएको कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपालगन्ज–७ र ५ वडा धेरै जोखिममा पाइएका छन् । यी दुई वडाको बीचमा गत शुक्रबार कोरोना पुष्टि भएका ६० वर्षीय वृद्धको घर छ । उनी नमाज पढ्नका लागि वडा ८ को जोलहनपुर्वा पुग्थे । स्थानीयको घरघरमा पुगेर उर्दू भाषा पढाउँदै आएका थिए । उनको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब जाँच गरिएको थियो । त्यसको परीक्षण गर्दा आइतबार १५ जना र मंगलबार बिहान ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज–७ का वडाध्यक्ष जुम्मन खाँले संक्रमण फैलिन नदिन सतर्कता अपनाएको दाबी गरे । ‘घरबाट ननिस्किन आग्रह गरिरहेको छु, चेतना पनि फैलाइरहेका छौं,’ उनले भने, ‘हाम्रो वडा नेपालगन्ज–८ सित सटेकाले धेरै जोखिममा छ । पहिलो संक्रमित व्यक्तिको आउजाउ यहाँ पनि भएको हुन सक्छ ।’

नेपालगन्ज–७ मा ३ हजार ५ सय जनसंख्या छ । यसैसित जोडिएको नेपालगन्ज–५ को जनसंख्या ४ हजार ८ सय ६ छ । जोखिम बढेपछि जिल्ला प्रशासनले मंगलबार नेपालगन्ज– ८, ७ र ५ का वडाध्यक्षलाई बोलाएर छलफल गरेको छ । कन्ट्याक्ट ट्रेसिङका लागि सहयोग गर्न प्रशासनले आग्रह गरेको हो । ‘जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने, ‘हामीले समन्वयको काम गरिरहेका छांै, सबै पक्षसँग समन्वय गरेर नियन्त्रणका लागि प्रयास गर्छौं ।’ नेपालगन्ज उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ३८ हजार ९ सय ५१ छ ।

‘ट्रेसिङ’मा संयुक्त टोली

संक्रमितको संख्या थपिंदै गएपछि कन्ट्याक्ट ट्रेसिङका लागि मंगलबारदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जिल्ला जनस्वास्थ्यको आग्रहमा उनीहरूले संक्रमित व्यक्तिको पहिचानका लागि सहयोग गरिरहेका छन् ।

त्यस्तै उपमहानगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले जनप्रतिनिधिको समन्वयमा मोबाइल फोनमार्फत कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको बताएका छन् । नेपाली सेनालगायत तालिमप्राप्त स्वास्थ्यकर्मीहरू परिचालन गरिएपछि जनशक्ति अभाव तत्काललाई टरेको छ । संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का चिकित्सकहरू डा। मुना प्रधान, डा। राजन पटेल र डा। पवन उपाध्यायको टोली पनि सक्रिय छ । उनीहरूले यहाँ कार्यरत विशेषज्ञ चिकित्सक र स्वास्थ्य अधिकारीसित भेटेर सुझाव संकलन गरेका छन् । उनीहरूले कन्ट्याक्ट ट्रेसिङ गर्न सक्ने सहज उपाय र संक्रमण नियन्त्रणका लागि छलफलसमेत गरेका छन् ।

उनीहरूका अनुसार संक्रमित कुनै व्यक्तिसँग १५ मिनेटसम्म एक मिटर कम दूरीको सम्पर्कमा रहे कोरोना सर्न सक्ने सम्भावना अधिक हुन्छ । तर आउजाउ गरेकै आधारमा कोरोना सर्ने सम्भावना कम हुन्छ । डब्लूएचओका चिकित्सकले कोरोनाको संक्रमण देखिएका टोलका बढीभन्दा बढी व्यक्तिको स्वाब जाँच गर्न सके नियन्त्रणमा सहयोग पुग्ने सुझाव दिएको बाँकेका एक स्वास्थ्य अधिकारीले बताए । उपमहानगरले संक्रमण नियन्त्रणका लागि जनप्रतिनिधिबीच छलफल थालेको छ ।

साथै संक्रमितको संख्या बढ्ने आशंकामा थप आइसोलेसन अस्पताल निर्माणका लागि पहलसमेत गरेको छ । उपमहानगरकी उपप्रमुख उमा थापामगरले नगरले संयुक्त टोली बनाएर रोकथामको काम सुरु गरेको बताइन् । उपमहानगरले स्वाब संकलन तथा परीक्षणका लागि जनस्वास्थ्य कार्यालयलाई सहयोग गरिरहेको उनले बताइन् । ‘जोखिम भएका वडाध्यक्षलाई संवेदनशील भएर सहयोग गर्न आग्रह गरेका छौं । विपद्को समयमा सामाजिक सद्भाव कायम राखी काम गर्न आग्रह गरेका हौं,’ उनले भनिन् ।

मंगलबार थपिएका संक्रमितलाई प्रहरीको प्यासेन्ट रिसिभिङ टिम (पीआरटी) मार्फत मंगलबार साँझ खजुरास्थित आइसोलेसन अस्पतालसम्म पुर्‍याइएको छ । उक्त टिमले यतिबेला नेपालगन्जका कोरोना संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन कक्षसम्म पुर्‍याउँदै आएको छ ।

७ संक्रमित थपिए

पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब शनिबार संकलन गरिएको थियो । तीमध्ये ५५ नमुना परीक्षण गर्दा आइतबार १५ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार साँझ सम्भव नभएपछि बाँकी नमुना सोमबार परीक्षण गरिने र रिपोर्ट तत्काल सार्वजनिक हुने विश्वास थियो । तर दिनभरि परीक्षण हुन सकेन । साँझ परीक्षण भएका नमुनाको रिपोर्ट सार्वजनिक गरिएन ।

धेरै संक्रमित फेला परेको क्षेत्रकै प्रयोगशालामा भएको ढिलाइबारे विभिन्न क्षेत्रबाट प्रश्न उठे । सोमबार राति अबेरसम्म जनस्वास्थ्य अधिकारीले प्राविधिक कारणले ढिलाइ भएको बताए । तर मंगलबार बिहान मात्र संंघीय जनस्वास्थ्य मन्त्रालयले बाँकी परीक्षणको रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार नेपालगन्ज–८ मा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगन्जमा कोभिड–१९ संक्रमितको संख्या २३ पुगेको छ ।

यसबाहेक रूपन्देहीको कोटहीमाई–१ का एक व्यक्तिको संक्रमण पुष्टि भएको छ । प्रदेश ५ मा अहिलेसम्म २४ संक्रमित पुगेका छन् । यहाँ संक्रमित बढेपछि कन्ट्याक्ट ट्रेसिङ र लकडाउन प्रभावकारी तुल्याउन मंगलबार बिहान ११ बजेबाट तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा नेपालगन्ज उपमहानगरपालिका–८ का २२, ३० र ४० वर्षीय पुरुष तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला छन् । संक्रमित सबैको स्वास्थ्य सामान्य छ । उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

जनशक्ति अभाव

जिल्ला जनस्वास्थ्य कार्यालयले जनशक्ति अभाव भएको भन्दै व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई पत्राचार गरेको छ । कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनका लागि थप जनशक्ति माग गरिएको हो । उपमहानगरपालिकाकी उपप्रमुख थापाले कन्ट्याक्ट ट्रेसिङका लागि थप स्वास्थ्यकर्मी परिचालन गरिरहेको बताइन् । ‘समन्वय गरेर काम गरौं । जनशक्ति अभाव हुँदैन,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। प्रकाश थापाले भने, ‘अहिले अभाव नभए पनि संक्रमित थपिंदै जाने हो भने समस्या हुन सक्छ ।’

जनशक्ति र मेडिकल किट अभाव हुन नदिन प्रदेश र संघीय सरकारलाई पत्राचार गरिरहेको उनले बताए । ‘तीन सय जनाको स्वाब परीक्षणका लागि मेडिकल किट छ,’ उनले भने,

‘तत्काललाई पीपीई पनि पुग्छ ।’ प्रदेश सरकारले परीक्षण सहज तुल्याउन भेरी अस्पतालमा प्रयोगशाला तयार गरेको छ । जनस्वास्थ्यका अनुसार मंगलबार बेलुकासम्म थप ४५ जनाको स्वाब संकलन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*