तातोपानीबाट सबैथरी सामग्री भित्र्याइने, नाकामा स्वास्थ्य परीक्षण कडाइ
तातोपानी नाकाबाट अब सबै प्रकारका व्यापारिक सामग्रीहरुका लागि खुला भएको छ । खाद्यान्न र मेडिकल सामग्रीमात्रै भित्र्याउने सहमतिमा खोलिएको तातोपानी नाका सबै खालका सामग्री भित्रिने भएको हो ।
जनप्रतिनिधि, व्यवसायी, हिमालय सीमापार वाणिज्य संघ र उद्योग वाणिज्य संघबीच बुधबार र बिहीबार भएको छलफलले सबै प्रकारका व्यापारिक सामान भित्र्याउने सहमति गरेको हो । यो निर्णयपछि अब सामाग्री आयातमा रोकतोक नहुने भएको छ ।
नाकामा स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा दिएर सामग्री ल्याउने सहमति गरिएको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।
स्वास्थ्य प्रोटोकलको पालना गर्दै दिनहुँ १० वटा कन्टेनरबाट आवश्यक सामान आउने उनले बताएका छन् । अब रेडिमेडबाहेक व्यापारिक सामग्रीमा किटनाशक औषधि छर्किने लगायत सबै प्रक्रिया पूरा गरेर भित्र्याउने उनले बताएका छन् ।
स्थानीय, जनप्रतिनिधि र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने र एक महिनामा समीक्षा गर्ने पनि सहमति भएको छ।
पौडेलका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम हेल्थ डेस्कको मेडिकल सेट ल्याएर नाकामा स्वास्थ्य परीक्षण कडाइ गरिएको छ
।










