मकवानपुरमा सेनिटाइजिङ मेसिन संचालनमा रोक
मकवानपुरमा सेनिटाइजिङ मेसिन संचालनमा रोक लगाइएको छ । हेटौँडा अस्पतालका मेडिकल सुपेरीटेण्डेन्ट डा. प्रविण श्रेष्ठले मकवानपुरमा संञ्चालनमा आएका सेनिटाइजिङ मेसिनहरु बन्द अवस्थामा रहेको बताएका हुन् ।
मानव स्वास्थ्यमा हानिकारक मानिए पछि प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशबाट उक्त सेनिटाइजिङ मेसिन संचालनमा रोक लगाइएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनले मानव शरिरमा मेसिनबाट किटनाशक औषधि जन्य केमिकल प्रयोग गर्न नहुने भन्दै त्यस्ता सेनिटाइजिङ मेसिनहरु संञ्चालनमा रोक लगाउन पर्ने जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशबाट मेसिन संञ्चालनमा रोक लगाउन निर्देशन भएपछि हेटौँडा अस्पतालमा स्थापना गरिएको सेनिटाइज मेसिन प्रयोगमा नल्याइएको मेसु श्रेष्ठले बताए ।
मकवानपुरमा रातोमाटे प्रहरी चेकपोष्ट, हेटौँडा उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, हेटौँडा अस्पताल लगायतका स्थानमा उक्त मेसिन स्थापना गरिएको थियो । तर उक्त मेसिनमा प्रयोग भएको स्प्रे गर्ने तरल पदार्थ मानव स्वास्थ्यको लागि हानिकारक हुने भएकोले सो मेसिनको प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गरेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारीले उक्त मेसिनको प्रयोगले मावन स्वास्थ्यमा असर पुग्ने बताए ।
उनले कोरोना संक्रमणबाट बच्न मास्क, सेनिटाइजरको प्रयोग गर्ने , साबुन वा डिटोल पानीले हात हुने विधिनै उत्तम भएको बताए ।