चितवन र मकवानपुरमा ग्रामीण विद्युतीकरण निर्माण जारी

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २०:१९
;

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि उच्च सतर्कता अपनाउँदै ग्रामीण विद्युतीकरणको निर्माण द्रुत गतिमा भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र टाँडीद्वारा चितवन र मकवानपुर जिल्लाको चार नगरपालिकासहित दुई गाउँपालिकामा रु १० करोड ५० लाखको लागतमा सो कार्य भइरहेको जनाइएको छ । 

सो केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार नेपाल सरकारको रु आठ करोड तथा प्राधिकरणको रु दुई करोड ५० लाखको लागतमा विभिन्न ठेकेदार कम्पनीमार्फत निर्माण जारी रहेको हो । 
 
सो वितरण केन्द्रअन्तर्गत रत्नगर, कालिका, राप्ती नगरपालिकाका साथै मनहरी गाउँपालिकाको लोथर र इच्छाकामना गाउँपालिकाको ७ नं वडामा विद्युतीकरण भइरहेको छ । ती क्षेत्रमा विद्युत् विस्तार नहुँदा जनता समस्यामा पर्दै आएका थिए । केन्द्र प्रमुख श्रीवास्तवले ती स्थानीय तहमा विद्युुत् विस्तार हुँदा करिब १० हजार घरपरिवार लाभान्वित हुने  र  चालु आवमा निर्माण सम्पन्न हुने  बताए ।  
    
त्यस्तै सो केन्द्रले आफ्नो कार्यक्षेत्रमा विभिन्न स्थानमा रहेका पुराना ट्रान्सफर्मर हटाएर ३२ वटा नयाँ ट्रान्सफर्मर जडान  साथै जीर्ण अवस्थामा रहेका पोल र तारको मर्मत गरी व्यवस्थितसमेत गरेको छ । 

केन्द्रले रत्ननगर र खैरहनी नगरपालिकालगायत नगरपालिका क्षेत्रमा विगत पाँच वर्षदेखि त्यहाँको सवस्टेशनमा ओभरलोड भई लोडसेडिङ गर्नुपर्ने अवस्थालाई पनि सुधार गरेको जनाएको छ ।

सवस्टेशनको आभरलोड हटाउन टिकैलीको जङ्गलबाट आएको विद्युत् लाइनलाई मर्मत गरी भरतपुरसम्म विद्युत् सञ्चालन गरिएको छ । केन्द्रका प्राविधिक शाखाका अनुसार राप्ती नगरपालिको भण्डारा हरदिमा निर्माण हुँदै आएको सवस्टेशन सञ्चालनमा आएको छ । 

करिब ६० हजार ग्राहकबाट सो केन्द्रले रु ६ करोड महसुल वार्षिक रुपमा सङ्कलन गर्दै आएको छ । तर लकडाउनका कारण चैत र वैशाख महिनामा ५० प्रतिशतमात्र राजश्व सङ्कलन भएको प्रमुख श्रीवास्तवले बताए । अहिले विद्युत् महसुल तिर्न इसेवाका साथै विद्युत् समस्या समाधानका लागि विशेष टोली बनाई काम गर्दै आएको छ । रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*