रौतहटमा भारतले दशगजा मिचेर बनायो ड्याम
लकडाउनका वेला नेपाल–भारत दुवै देशको सीमा सिल रहेको अवस्थामा भारतीय पक्षले रौतहट जिल्लासँग सिमाना जोडिएको दशगजा क्षेत्र नै मिचेर ड्याम बनाएको छ ।
लकडाउन सुरु भएयता भारतीय पक्षले रौतहटको इशनाथ नगरपालिकामा पर्ने १, २ र ३ नम्बर वडा नै डुबानमा पर्ने गरी सीमा मिचेर ड्याम बनाएको हो ।
नेपाल–भारत दुवै देशमा लकडाउन भएको अवधिमै भारतीय पक्षले १० देखि १२ मिटर नेपाली भूमि मिचेर पहिलाको तुलनामा पाँच फिट बढी ड्याम बनाएपछि स्थानीय बासिन्दाले त्यसको चर्को विरोध गरे पनि नेपाली पक्षबाट कसैले नबोलेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
भारतीय ड्यामका कारण रौतहटको इशनाथ र राजपुर नगरपालिकाका विभिन्न वडा डुबानमा पर्दै आएकोमा पछिल्लो समय ड्याम फराकिलो पार्दे उचाइसमेत पाँच फिट बढाएका कारण आफूहरू मारमा परेको इशनाथ नगरपालिका– १ का वडाध्यक्ष बिगु साहले बताए ।
इशनाथ नगरपालिका– १ को बन्जराहमा भारतले सीमा मिच्दै अग्लो बनाएको ड्यामका विषयमा आफूहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा खबर गरेको भए पनि भारतीय पक्षको काम रोक्न कुनै प्रयास नभएको वडाध्यक्ष साहले बताए ।
कुनै ठाउँमा १० मिटर र कुनै ठाउँमा १२ मिटर दशगजा मिचेर ड्याम बनाउँदासमेत सम्बन्धित निकायले वास्ता नगरेका कारण अब आउने वर्षामा आफूहरू डुबानमा पर्ने स्थानीय बासिन्दा सुरेसप्रसाद गुप्ताले बताए ।
भारतीय पक्षले बढाएको ड्याममा केमिकलयुक्त माटो प्रयोग गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । लकडाउनकै समयमा भारतीय पक्षले करिब तीन किलोमिटर ड्यामको उचाइ बढाएको छ ।
नेपाल–भारत वार्तामा तीन किलोमिटरमा साइफन राखेर पानीको निकास निकाल्ने सर्त भएपछि तीन किलोमिटरमा भारतीय पक्षले साइफन बनाउनुको साटो उल्टो ड्यामको उचाइ बढाएको स्थानीय वृद्ध जयराम सिंहले बताए ।
भारतीय पक्षले लकडाउनका वेला केमिकल युक्त माटो ल्याएर ड्यामको उचाइ बढाउने र सीमा मिच्ने काम गर्दासमेत नेपाली पक्षबाट काम रोक्नका लागि पहल नभएको नेपाली कांग्रेसका स्थानीय नेता गृषनन्दन सिंहले बताए ।
ड्यामका कारण पानीको निकास नहुने भएका कारण नेपाली भूभाग डुबानमा पर्ने भए पनि त्यसतर्फ कसैले चासो नदिएको बन्जराहवासीको भनाइ रहेको छ । सो क्षेत्रमा भारतीय पक्षबाट पटकपटक सीमा मिच्ने काम हुँदासमेत नेपाल सरकारको तर्फबाट कुनै पहल हुन नसकेको स्थानीय बासिन्दा रामचन्द्र महतोले बताए ।
सो विषयमा रौतहटका सिडिओलाई जानकारी गराउँदा उनले पटकपटक पहल गर्छु भन्दाभन्दै तीन किलोमिटर काम भारतले सकेको वडाध्यक्ष बिगु साहको भनाइ छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नियम विपरित सीमामा ड्याम नबनाउन भारतीय पक्षलाई आग्रह गर्दा पनि अटेर गरेर जवर्जस्ती बनाएकाे बताए । उनले पीलर नम्बर ३४५ सम्म माटो हाल्न नपाउने भए पनि भारतीय पक्षले लकडाउनकै बेला अटेर गरेर माटो हालेकाे जानकारी दिए । 'यसबारे हामीले गृहमन्त्रालयलाई पत्राचार गरिसकेका छाैं,' उनले भने् ।
भारतीय पक्षले बनाएको ड्याम र सीमा अतिक्रमणका कारण आउँदो वर्षायाममा रौतहटको इशनाथ नगरका अधिकांश भाग पूर्ण रूपमा डुबानमा पर्ने स्थानीयको भनाइ छ ।
स्रोतः नयाँ पत्रिका दैनिक










