काभ्रेमा ‘लकडाउन’ खुकुलो

हेटौडा न्युज
२७ बैशाख २०७७, शनिबार २३:३९
;

 काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका बन्द गरिएपछि लकडाउन खुकुलो बनाइएको छ । काभ्रेमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोस्टले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि जिल्लासँग सिमाना जोडिएका नाकाबाट नागरिकलाई जिल्ला आवत जावतमा पूर्णरूपमा रोक लगाएको थियो । 

जिल्ला प्रवेश नाकामा कडाइ गरेको एकै दिनपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार साँझ जिल्लामा लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । केन्द्रले सुरक्षाको मापदण्ड र सामाजिक दुरी कायम गरी विभिन्न उद्योग तथा विकास निर्माण सम्बन्धित आयोजना सञ्चालन गर्न दिइने निर्णय गरेको थियो । 

तर जिल्लाको कुनै क्षेत्रमा कोराना भाइरसको सङ्क्रमणको जोखिम देखिएमा त्यस क्षेत्र वा जिल्लाभरि नै निश्चित अवधिसम्मका लागि स्थानीय प्रशासनले सबै रोक लगाइने शर्त राखेको छ ।

केन्द्रका अनुसार कृषि तथा पशुपंक्षीजन्य दूध, तरकारी, माछा, कुखुरा, अण्डा र दाना उत्पादन गर्न पाइने छ भने मल तथा बीउबिजनको ढुवानी र बिक्री गर्न पाइनेछ । साथै शीतभण्डारसमेत सञ्चालन गर्न पाइने केन्द्रले निर्णय गरेको छ । 

यहाँ सञ्चालित सडक आयोजना, नदी नियन्त्रणका कार्य तथा शहरी पूर्वाधारका योजना एक ठाउँमा अधिकतम १० भन्दा कम मजदुरले काम गर्ने गरी लकडाउन केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको वैशाख २५ गतेको पत्रअनुसार सबै क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सामाजिक सेवातर्फका बैंक, विद्युत्, खानेपानी, सञ्चार, फोहरमैला व्यवस्थापन तथा दमकल सञ्चालन हुनेछन् ।

‘पानी, ग्यास, पेट्रोलियम पदार्थ बोकेका भन्सार पास भएका सबै प्रकारका सवारी साधन सञ्चालन हुन पाउनेछन्’, उहाँले भन्नुभयो । यस्तै उद्योगतर्फका चामल, चिउरा, पिठो, पाउरोटी, तेल, दाललगायत घरेलु साना उद्योग सञ्चालन हुनेछन् । 

तर विश्वविद्यालय, क्याम्पस, विद्यालय, सिनेमाहल, होटल, बार र रेस्टुरेन्ट तथा पार्टी प्यालेस, फन पार्क आदि भने सञ्चालन हुन पाउने छैनन् । 

पोस्टले सिन्धुपाल्चोकसँग जोडिएको सबै गाउँपालिका तथा भक्तपुरसँग जोडिएको बनेपा नगरपालिका साँगामा आजदेखि अत्यावश्यक सवारीबाहेकलई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*