निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजारबढी रुख काटिने

हेटौडा न्युज
२९ बैशाख २०७७, सोमबार १४:०३
;

बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि चार हजार २ सय ३२ रुख काटिने भएको छ ।  

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको हिजो, २८ वैशाखमा बसेको  बैठकले विमानस्थल परिसर सडकका लागि तोकिएको क्षेत्रमा रुख कटान गर्नुपर्ने आँकडा निकालेको हो ।

समितिले रुख कटानको प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय भएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

रुख कटान प्रक्रियाअन्तर्गत रुख कटानको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले यथाशीघ्र नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्ने निर्णय समितिले  गरेको छ ।

निजगढ विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर क्रियाशील रहने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहने गरी उच्चस्तरीय सहजीकरण समिति बनाइएको छ।

समितिले विमानस्थल निर्माण क्षेत्रभित्रका रुख तथा पोलको लगत संकलन कार्यसमेत तत्काल अघि बढाउने निर्णय गरेको छ।

समितिको चौथो बैठकले गत २०७६ माघ २ मा बस्ती स्थानान्तरण सम्बन्धमा निर्णय गर्न कार्यदल गठन गरेको थियो।

विमानस्थल निर्माण गर्न लगानी बोर्डले निश्चित समयसीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रक्रिया पूरा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

समितिले प्राधिकरणबाट निजगढ विमानस्थलको गुरुयोजना निर्माणको खरीद सम्झौता प्रक्रियासमेत छिटो सक्न निर्देशन दिएको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*