बहालवाला मन्त्रीले नेपालको नक्सामा नरहेको अभिव्यक्ति

एक रेडियो अन्तरवार्तामा लिम्पयाधुरा नेपालको नक्सामा नरहेको अभिव्यक्ति दिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमा विवादमा तानिएकी छिन् ।
उनको अभिव्यक्तिलाई लिएर पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समेत आलोचना गर्दै माफी माग्न निर्देशन दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले त्यस्तो अभिब्यत्ति नदिन सचेतसमेत गराए ।
नेता नेपालले बोलेपछि केही सांसदहरुले भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय र सरकारको कामकारवाहीका बारेमा धारणा राखे ।
समिति सभापति पवित्रा निरौला खरेलले मन्त्री अर्याललाई बोल्न समय दिइन् । मन्त्रीले बोल्न सुरु गर्दागर्दै नेकपाकै नेता एवं सांसद भीम रावलले मन्त्री अर्यालले लिम्पियाधुरा नेपालको नक्सामा नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएकोले त्यसलाई प्रष्ट पार्न माग गरे ।
अतिरञ्जना गरेको दावी, दोष ऋषी धमलाको ?
बोल्न सुरु गरेकी मन्त्रीले फिजियो थेरापी गर्न अस्पताल जानुपर्ने भएकोले हिजोको बैठकमा आउन नपाएको बताउँदै आफूले हिजोदेखि सामाजिक सञ्जाल पनि नियालिरहेको बताइन् । असोजमा भारतले नक्सा प्रकाशन गरेपछि आफूले दर्जनौं अन्र्तवार्ता दिएको बताउँदै दर्जनौ सार्वजनिक ठाउँमा बोलेको उल्लेख गरिन् । हिजोको अन्र्तवार्तापनि हात हातमा पुगेको र त्यो सुन्न पाइने बताइन् ।
उनले आफूले कहिँ पनि कहिलेपनि लिम्पयाधुरा कालापानी नेपालको भूभाग हैन भनेर नभनेको दावी गरिन् । बरु आफू मन्त्रालयमा आएपछि ती भूभागहरु नेपालको रहेको प्रमाणहरु खोजेको, यथेस्ट प्रमाण जुटाउन आफू सफल भएको र ती भूभाग नेपालको हो भनेर भारतसँग टेबलमा बसेर छलफल गर्न सक्ने अवस्था बनाएको पनि दावी गरिन् ।
उनले भनिन्, ‘त्यसर्थ एउटा शब्द टिपेर यसो गरियो भनेर अतिरञ्जित गर्नुको कुनै अर्थ छ जस्तो लाग्दैन । मिडियाहरुका आफ्ना इन्ट्रेस्ट होलान् त्यो ढंगले । हिजोको अन्र्तवार्ताको पनि सुरुदेखि अन्तसम्म राम्रोसँग सुन्नुभयो भने कहीँ मेरो दुविधा छ जस्तो लाग्दैन । मैले कहिँ केही भएछ कि भनेर बिहान पनि हेरेँ तर कहीँ पनि त्यो हाम्रो भूभाग हैन भनेर त्यसमा हामीले वास्ता गर्दैनौँ, सरकारले मतलब गर्दैन भन्ने खालको अभिव्यक्ति झल्किने कुनै शब्द छैन । हिजोको अन्तरवर्ता सुरुदेखि अन्तसम्म सुन्नुभयो भने त्यसमा कुनै त्यस्तो शब्द छैन ।’
उनले २०३२ सालमा प्रकाशन भएको नक्सामा ती भूभाग नभएको र आफूले त्यो तितो सत्य बताउनुपर्ने आग्रह गर्दै त्यस्तो विषयलाई कसैले उचाल्न आवश्यक नरहेको बताइन् ।
महाकाली सन्धीका बेला ४ महिनाको बच्चा छोडेर आफू मार्च पास गर्न गएको बताइन् । त्यो बेलादेखि नै आफूमा राष्ट्रिय भावना रहेको बताइन् ।
उनले हिजोको अन्र्तवार्ताबारे भनिन्–‘म तपाईहरुलाई प्रष्टै भन्न चाहन्छु ऋषि धमलाको जनता जान्न चाहन्छन् । बिहानको ७ बजे । मलाई सूचना पनि थिएन । एउटा ल्याण्ड लाइनबाट फोन आयो । हातमै फोन थियो । फोन उठाएँ । फोन उठाएपछि तपाईसँग यसो ऋषि दाई कुरा गर्न खोज्नुभएको छ भन्यो । मैले त त्यो इन्टरभ्यू भन्ने पनि बुझिनँ । ऋषि बोल्न खोजेको छ भनेपछि केही होला दिनुन भने ।
अनि एक्कैचोटी मन्त्रीज्यू जनता जान्न चाहन्छन् तपाईंलाई यो प्रश्न भन्यो भएको यत्ति हो । मेरो त्यस्तो अभिव्यक्ति कहिँ पनि छैन ।’
भीम रावलले भने–‘अडियो सुनाइदिउँ’
मन्त्री अर्यालले नेपालको सीमा क्षेत्रको अवस्थाका बारेमा आफ्ना कुरा राखेपछि नेकपा नेता भीम रावलले मोबाइल निकालेर भने–‘मन्त्रीज्यूले आफूले बोलेको कुरालाई अतिरञ्जना गरिएको भन्नुभएको छ । तपाईले बोलेको कुरा मसँग अडियो छ । भोलि सरकारलाई अप्ठेरो नपरोस् भन्ने मेरो आशय हो । तपाईं चाहनुहुन्न भने म चाहन्न तर तपाईं सुन्न चाहनुहुन्न भने उहाँले बोलेको म सुनाइदिन्छु ।’
रावलले अडियो सुनाउन अनुमति मागेपछि मन्त्री अर्याल चुप लागिन् भने समिति सभापति खरेलले अडियो सुनाउन आवश्यक नभएको बताएपछि उनले फोन राखे ।
रातोपाटीमा खबर छ ।











