मोदीको फोटो राखेर बल खेल्दा प्रहरी खोस्न जाने, विद्यार्थी पास दिदैं छक्याउने
नेपाली भूमि एकतर्फी मिचेर मानसरोवर जाने बटो निर्माण गरेको विरोधमा कास्की पोखरामा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर राखेर सडकमा फुटबल खेलेका छन् । अनेरास्ववियूका विद्यार्थी नेताहरुले पोखराको मुख्य बजार महेन्द्रपुलमा आज दिउँसो विरोध स्वरुप फुटबल खेलेका हुन् ।
विद्यार्थीहरुले भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, नरेन्द्र मोदी खबरदार लगायतका नाराहरु समेत लगाएका थिए ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय नेता गोविन्द गौतम, पोखरा नगरका अध्यक्ष विशाल तामाङ लगायतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै तिब्बतसँग सडक जोड्नु नेपाली मातृभूमि माथिको हस्तक्षेप रहेको प्रतिक्रिया दिएका थिए ।
विद्यार्थीहरुले सडकमा खेलिरहेको फुटबल खोस्ने क्रममा केहीबेर तनाव भएको थियो । प्रहरी बल खोस्न खोज्ने र विद्यार्थीले एकापसमा पास गर्दै बल छक्याउन खोजेको दृष्य केहीबेर चलेको थियो । विद्यार्थीसँग केहीबेरको रस्साकस्सी पछि भने जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले बल खोसेको थियो । आजको विरोध कार्यक्रमबाट भने प्रहरीले कसैलाई पक्राउ भने गरेन ।