लकडाउनमा पनि निरन्तर सेवा दिदैँ नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र
कोरोना भाइरसको संक्रमणबाट बच्न संघीय सरकारले लकडाउन गरेको अवधिमा नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
विद्युत प्रवाह अवरुद्ध भएको अवस्थामा मर्मत गर्ने काम निरन्तर भइरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णय बमोजिम विहान ६ बजेदेखि १० बजेसम्म विद्युत महशुल काउन्टर संचालन गरी महशुल बुझ्ने काम भइरहेको पनि उनले जानकारी दिए ।
महशुल बुझाउन प्राधिकरण पुगेका ग्राहक वर्गलाई अनिवार्य रुपमा सुरक्षाका उपाय अपनाउन लगाइएको उनको भनाई छ । प्राधिकरणमा प्रवेश गर्नको लागि अनिवार्य मास्क लगाउनुपर्ने, प्रवेश द्वारमा शरिरको तापक्रम मापन गराउनुपर्ने, प्रवेश द्वारमा रहेको धारामा साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउनुपर्ने व्यवस्था गरिएको र रुघाखोकी लागेको वा कोरोनाको शंकास्पद विरामीलाई प्रवेशमा रोक लगाईएको उनको भनाई छ ।
महशुल बुझाउन आउनेहरुका लागि काउन्टर अगाडि गोलो घेरा बनाएर सामाजिक दुरी कायम गर्ने गरिएको उनले बताए ।
मिटर जाँच गर्न जान समस्या भएकोले केन्द्रिय निर्देशन बमोजिमनै सिङ्गल फेजका ग्राहकहरुलाई फागुन महिनामा उठेको शुल्कलाई आधार मानेर चैत र बैशाख महिनाको महशुल निर्धारण गरिएको र ठूला ग्राहकहरुको हकमा भने मिटर जाँचका लागि प्राधिकरणबाट कर्मचारी पठाइने गरिएको साथै रिमोर्टबाट स्मार्ट सीस्टमको प्रयोग गरेर पनि मिटर रिडिङ्को काम भइरहेको उनले बताए ।
आगमी जेठ १ गतेबाट भने ग्राहकको घरमै मिटर रिडिङ्का लागि प्राधिकरणबाट कर्मचारी खटाइने उनले बताए । उनले जेठमा रिडिङ्का लागि आएका प्राधिकरणका कर्मचारीहरुलाई सहजिकरण गरिदिन समेत आग्रह गरेका छन् ।
मिटर रिडिङ् गर्न जाने कर्मचारीलाई सामाजिक दुरी कायम गरेर मिटर भएको ठाउँसम्म पुर्याइदिन उनले ग्राहक वर्गमा अनुरोध समेत गरेका छन् ।










