भारतमा लकडाउन खुकुलो हुँदा दशगजामा नेपालीको चाप

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १३:५५
;

नेपाल -भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली जम्मा भएको पाइएको छ । तीमध्ये २ हजार ३ सय ८५ जना विभिन्न प्रदेशका नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । अरु सीमा क्षेत्रको क्वारेन्टाइनमा राखिएका छन् ।

सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरणअनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना रहेको देखिन्छ ।

यद्यपि, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जिल्लास्थित संयन्त्रसँग अनलाइनखबरले गरेको सम्पर्कबाट भारतका क्वारेन्टाइनमा समेत गरी ३ हजार ६५ जना मजदुर सीमामा रहेको खुलेको छ ।

सशस्त्र प्रहरीले तत्काल नेपाल प्रवेश गर्ने उद्देश्यका साथ सीमामा आएका व्यक्तिको विवरण संकलन गरेको एक उच्च अधिकृत अनलाइनखबरलाई बताए । ‘गृहमा बुझाइएको तथ्यांकमा सीमा क्षेत्रका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको विवरण नजोडिएकाले जिल्लाबाट आएको तथ्यांक बढी देखिएको हो’, उनले भने ।

सशस्त्र प्रहरीले बुझाएको रिपोर्टअनुसार प्रदेश नं. २ को धनुषामा ५, सिरहामा १९, प्रदेश ५ को नवलपरासीमा ६०, रुपन्देहीमा १ सय ६१, कपिलवस्तुमा दुई हजार एक सय ३७ र प्रदेश नं. ७ को कञ्चनपुरमा ३ जना सीमामा अलपत्र छन् ।

भारतमा लकडाउन खुकुलो भएसँगै सीमामा नेपाली बढे

प्रदेश नं. १ प्रहरी कार्यालय स्रोतका अनुसार झापामा १ सय ९५, मोरङ र सुनसरीमा ५०/५० जना सीमा क्षेत्रमा छन् । प्रदेश नं. २ प्रहरी स्रोतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको सीमावर्ती क्षेत्रमा ५ सय २७ जना नेपाली भारतको क्वारेन्टाइनमा राखिएका छन् ।

प्रदेश २ का एक उच्च सुरक्षा अधिकृत भन्छन्, ‘यो हामीसँग सम्पर्कमा आएका मजदुरको तथ्यांक हो । उनीहरु विद्यालय र अस्पतालका क्वारेन्टाइनमा राखिएका छन् ।’ नेपाली सुरक्षा संयन्त्रलाई जानकारी नगराइ पनि थुप्रै मजदुर सीमा क्षेत्रमा बसेको हुनसक्ने उनले जनाए ।

भारत सरकारले लकडाउन खुकुलो गरेसँगै १९ वैशाखबाट विभिन्न राज्यमा अलपत्र मजदुर, विद्यार्थी, तीर्थयात्री तथा पर्यटकलाई रेलबाट उद्दार गर्न सुरु गरेको थियो । मजदुरको सामान्य स्वास्थ्य परीक्षणपछि उनीहरुलाई रेल चढ्न दिइएको थियो । यसरी आउने मजदुरका कारण सीमामा अलपत्र नेपालीको संख्या बढ्न सक्ने सुरक्षा संयन्त्रको अनुमान छ ।

उद्दारका लागि भारतले तेलंगना-झारखण्डको हाटिया, केरेलाको अलुभादेखि ओडिशाको भुवनेश्वर, महाराष्ट्र-यूपीको लखनाउ, नासिकदेखि मध्ये प्रदेशको भोपाल र राजस्थानको जयपुरदेखि विहारको पटनासम्म रेल सेवा दिएको थियो । भारतमा सार्वजनिक यातायात सञ्चालन भइनसकेकाले ती क्षेत्रबाट मजदुर हिँडेरै सीमा क्षेत्रसम्म आउने छन् ।

‘उद्दार भएर आउने प्रदेश १ का मजदुर पटनामा रोकिएका हुनसक्छन्’, प्रदेश नं. १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले अनलाइनखबरसँग भने, ‘पटनाबाट हाम्रो सीमा क्षेत्र आइपुग्न अलि बढी समय लाग्छ । त्यसैले एक/दुई दिनमा सीमामा मजदुरको संख्या बढ्न सक्छ ।’

प्रदेश १ का सर्वसाधारण कामका लागि कोलकता, आसाम, मणिपुर लगायतका क्षेत्रमा जाने गर्छन् । यद्यपि, प्रदेश १ बाट कामका लागि भारत जानेको संख्या अन्य प्रदेशको तुलनामा धेरै छैन ।

प्रदेश नंं २ का सर्वसाधारण दिल्ली, मध्यप्रदेश, पञ्जाब लगायतका क्षेत्रमा जाने गरेको पाइन्छ । प्रदेश नं. ५ र सुदुरपश्चिमका सर्वसाधारण भने लखनउ, बम्बई, पञ्जाब, उत्तराखण्ड, हरियाना लगायतका क्षेत्रमा जाने गरेका छन् ।

नेपाल प्रहरीको प्रदेश नं. ५ को कोभिड-१९ डेस्कका प्रहरी नायब उपरीक्षक (डीएसपी) अवय झा भारतबाट नेपाली मजदुर आउने क्रम अझै जारी रहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘भारततिर लकडाउन खुकुलो भएसँगै पैदल हिँडेर आउने मजदुर बढेका छन्, भोलिसम्ममा संख्या बढ्न सक्छ ।’

उद्दार गर्न सुरक्षा संयन्त्रको सुझाव, के गर्दैछ सरकार ?

सीमामा अलपत्र नेपालीसँग प्रत्यक्ष सम्पर्कसँगै नजिकबाट नियालिरहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै प्रदेश सरकारले उद्दार गर्न सरकारलाई सुझाव दिएको छ । एक उच्च सुरक्षा अधिकृतले अनलाइनखबरलाई बताएअनुसार अझै नेपालीलाई सीमामा अड्काइ राख्ने हो भने धैर्यताको सीमा फुट्न सक्ने आँकलन गरिएको छ ।

यथाशिघ्र उनीहरुको उद्दार नगरिए सीमामा सरकार विरोधी गतिविधि पनि बढ्न सक्ने सुरक्षा संयन्त्रको विश्लेषण छ । उनीहरुले यो रिपोर्टिङ सरकारी अधिकारीहरुलाई गरिसकेका छन् । जसअनुसार पहिलो चरणमा १८ वैशाखमा महाकाली नदी पारि अलपत्र नेपालीको उद्दार भइसकेको छ ।

मुलुकको अन्य सीमा क्षेत्रमा अलपत्रको पनि यसै गरी उद्दार गर्न सुरक्षा संयन्त्रको सुझाव छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल उद्दार गरिए जोखिम बढ्न सक्ने अडान राख्दै आएका छन् । ‘अहिले ल्याउनु हुँदैन भन्ने अडान थियो तर, स्थिति जटिल बन्दै जाँदा केही लचिलो बन्न सक्ने संकेत देखिएको छ’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘सीमामा रोकिएका व्यक्तिलाई कसरी नेपाल ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।’

स्रोतका अनुसार सीमामा स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राख्ने गरी अलपत्र नेपालीलाई ल्याउन सक्नेबारे छलफल जारी छ । ‘लामो समय सीमामा रोक्दा झन आपत हुने देखियो’, स्रोतले भन्यो, ‘ल्याउनेबारे छलफल भइरहेको छ, केही दिनमा निर्णय हुनसक्छ ।’

तर, सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएर कुल संक्रमितको संख्या एक सय ३३४ पुगेको छ । तीमध्ये कपिलवस्तुमा भेटिएका १० संक्रमित लकडाउनकै वेला भारतबाट आएको पाइएकाले मजदुरलाई नेपाल ल्याउनु जोखिम पनि हुनसक्ने विश्लेषण गरिन थालेका छन् ।

यसअघि मन्त्रिपरिषद वैठकले २४ वैशाखमा अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका उप-सचिव उमाकान्त अधिकारी भन्छन्, ‘अहिलेसम्म हाम्रो नीति सीमामा आवागमनलाई पूर्णतः ठप्प पार्ने भन्ने नै हो ।’

अनलाईन खबरमा समाचार छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*