पास बनाएर उपत्यका प्रवेश गरेका थिए काठमाडौं र भक्तपुरका तीन संक्रमित
काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना कोरोना संक्रमित पास बनाएर काठमाडौं उपत्यका प्रवेश गरेको खुलेको छ । उनीहरु लकडाउनबीच पास बनाएर तराईबाट उपत्यका आउन सफल भएको पाइएको छ ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ ।
भक्तपुरमा संक्रमण भेटिएका व्यक्ति पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका व्यक्ति हुन् । एक महिनाअघिसम्म रावलको सुरक्षामा खटिएका ती सशस्त्र प्रहरी जवान केही दिनअघि मात्रै पास बनाएर तराईको जिल्लाबाट काठमाडौं आएका थिए । उनको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा स्थायी अस्थायीरुपमा बस्दै आएको बताइएको छ ।
ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ ।
यसैगरी भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँठिमीस्थित प्रजित रेग्मीको घरमा बस्दै आएकी थिइन् । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का घर भएकी ती महिला २९ वैशाखमा मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी थिइन् ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला चन्द्रागिरि नगरपालिका–९ की रहेकी छिन् । उनी २९ वैशाखमा कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको हो । उनी निजी गाडीको पास बनाएर काठमाडौं प्रवेश गरेकी हुन् ।