भारतीय नाकामा क्वारेन्टाइन खोइ ? खुला सिमानाका कारण बढ्दै जोखिम
भारतबाट हजारौं कामदारले नेपालले फर्कने तयारी गरे पनि सरकारले आवश्यक सजगता अपनाउने सम्बन्धमा कुनै चासो देखाएको छैन । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा नेपाल फर्कने तयारीमा रहेका उनीहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने सम्बन्धमा अन्योल देखिएको छ ।
भारत सरकारले भारतमा छरिएर रहेका नेपाली र आफ्ना नागरिकलाई गन्तव्यमा पुग्न मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतबाट झन्डै १ लाख नेपाली मजदुर स्वदेश फर्कने तयारीमा छन् ।
उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यस विषयमा कुनै निर्णय गर्न सकेको छैन । समितिले निर्णय नलिँदा स्थानीय तह र अन्य निकाय पनि अलमलमा परेका छन् ।
नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्यन्जु (श्रेष्ठ)ले भारतबाट कति संख्यामा नेपाली आउँछन् भन्ने तथ्यांक नभएकाले अलमलको अवस्था सिर्जना भएको बताए ।
‘सरकारले दुई देशबीच समन्वय गरी कति संख्यामा नेपाली आउँदै छन् भन्ने विषय थाहा पाउनुपछर्,’ अध्यक्ष श्रेष्ठले भने, ‘होइन भने स्थानीय तहले मात्र केही पनि गर्न सक्तैन ।’
अहिले कस्ता मानिसलाई नेपाल भिœयाउने भन्ने विषय अन्योल रहेकाले केन्द्रीय सरकार नै स्पष्ट हुनुपर्नेमा उनले जोड दिए । कतिको संख्यामा कुन जिल्लाको मानिस आउँदै छन् भन्ने विषय अन्योल हुँदा एकैपटक समस्या आए स्थानीय तहले केही गर्न नसक्ने उनले बताए ।
श्रेष्ठका अनुसार देशभरका स्थानीय तहमा ३२ हजार क्वारेन्टाइन बनेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तहले हजारौंको संख्यामा आउने व्यक्तिलाई खानपिन र व्यवस्थापन गर्न नसक्ने हुनाले जुन देशबाट आए पनि द्रुत गतिमा कोरोना परीक्षण (पीसीआर) गरी कोरोना भेटिए अस्पताल पठाउने र नभेटिए गाडीमा हालेर गन्तव्यसम्म पठाउने योजना बनाउन जरुरी रहेको बताए ।
‘एकैपटक धेरैको संख्यामा आउनेलाई व्यवस्थापन गर्न सथानीय तह र प्रशासनलाई पनि गाह्रो पर्ने भएकाले गल्फ कन्ट्रीबाट आउने हुन् वा भारतबाट आउने नेपालीलाई जाँच गर्दै पठाउने नीति मन्त्रालयको रहेको छ,’ प्रवक्ता अधिकारीले भने । उनले बिहीबार मन्त्री हृदयेश त्रिपाठीले उपत्यका नगरपालिका फोरमको बैठकमा भारतलगायत बाहिरबाट आउने नेपालीलाई परीक्षण गरेर घरसम्म पठाउने व्यवस्था गर्ने निर्णय भएको बताए ।
संघीय तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस विषयमा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गर्ने निर्णय नै मुख्य हुने भएकाले समितिले यस विषयमा निर्णय नगर्दा र मन्त्रिपरिषद्को निर्णय नआउँदा समस्या देखिएको छ ।
भरतबाट दुई–तीन साताभित्र हजारांैको संख्यामा नेपाली नेपाल आउन सक्ने सम्भावना बढेको छ । उनीहरू नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसके नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । नेपालका विभिन्न जिल्लाबाट भारतका उत्तर प्रदेश, विहार, उडिसा, गुजरात र महाराष्ट्रमा रोजगारीका लागि गएका नेपाली मजदुरले स्वदेश फर्कन लखनउ र नेपालनजिक पर्ने विभिन्न स्थानसम्मको टिकट बुकिङ गर्न थालिसकेको बताइएको छ ।
अहिले नेपालमा कोरोना भाइरसको संक्रमण अत्यधिक रूपमा बढिरहेको छ । पछिल्लो समयमा भारतीय नाका क्षेत्रमा नै संक्रमण भएका व्यक्तिको संख्या बढेको छ । यस्तो अवस्थामा नेपालले उचित कदम नचाले भयावहको अवस्था आउन सक्ने चिकित्सकको दाबी छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले भारत बाहेक अन्य खाडी मुलुकबाट पनि लाखौंको संख्यामा नेपाली स्वदेश फर्कंदै गरेको सूचना आएको जानकारी दिएका छन् । उनले सबै नागरिकलाई परीक्षण गरी घर फर्काउनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले सीमित साधन स्रोत र धेरै संख्यामा आउने नेपालीलाई एकैपटक व्यवस्थापन गर्न नसक्ने हुनाले परीक्षणको विकल्प नरहेको बताए ।
राजधानी दैनिकमा समाचार छ ।










