नेपालका संक्रमितमा कोरोना लक्षण किन छैन ?

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार १५:२०
;

कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदै

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमाल भन्छन्–नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ । अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे बोल्न अध्ययन नै गर्नुपर्ने भएकाले छलफल सुरु गरिएको हो । 

नेपालमा पनि कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदै छ । नेपाल प्रवेश गर्दा कोरोना भाइरसले स्वरूप परिवर्तन गरेको अनुमानसहित स्वास्थ्य मन्त्रालयले अध्ययन–अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ । अनुसन्धानमा कोरोना भाइरसको प्रकार, बनावट र संरचना हेरिनेछ । 

देशभर अहिले देखिएका संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिनु र कुनै पनि संक्रमित आइसियूमा बस्नुपर्ने अवस्था नआएकाले यसले नेपालमा रूप परिवर्तन गरेको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

विश्वव्यापी रूपमा देखिएको ‘ट्रेन्ड’अनुसार सय संक्रमितमध्ये ८० जनामा सामान्य लक्षण देखिने, संक्रमितको १५ प्रतिशत आइसियू र पाँच प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यो अनुपात नेपालमा भने मिलेको छैन । अहिलेसम्म कुनै पनि संक्रमितलाई आइसियू र भेन्टिलेटरमा बस्नुपरेन । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश संक्रमितमा लक्षणसमेत देखिएको थिएन । 

त्यस्तै, संसारभरको अध्ययनले ६० वर्षमाथिको उमेर समूहलाई कोरोना संक्रमणको उच्च जोखिम हुने देखाएको छ । तर, नेपालमा यो समूहका संक्रमितमा पनि लक्षण देखिएको छैन । 

अध्ययन–अनुसन्धान गर्ने जिम्मा पाएका परिषद्ले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्राज्ञिक संस्था, अस्पताल, वैज्ञानिक, नास्ट, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अनुसन्धानमा संलग्न संस्था र व्यक्तिलाई अनुसन्धानमा सामेल गराएको छ । परिषद्ले उनीहरूसँग बृहत् छलफल पनि गरेको छ । 

परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ । अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे अहिले नै केही भन्न सकिँदैन । ‘अध्ययनपछि मात्रै बाल्न सकिन्छ, तयसका लागि छलफल सुरु गरिएको छ,’ डा.धिमालले भने । 

नेपालमा देखिएको कोरोना भाइरसको प्रजातिबारे पनि विज्ञ र अनुसन्धानकर्तामाझ बहस चलिरहेको छ । त्यस्तै, नेपालीमा रोग प्रतिरोधात्मक क्षमता अरू देशभन्दा भिन्न छ कि छैन भन्ने विषयमा पनि फरक–फरक मत छन् । केहीले कोरोना भाइरस नेपालमा कमजोर देखिनुमा हावापानी र खानेकुराको पनि प्रभाव हुन सक्ने अड्कल गरेका छन् । त्यस्तै, भाइरस कमजोर भएर भित्रिएको अनुमान पनि छ । भाइरोलोजिस्टहरूका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्दा साबिकभन्दा कडा वा नरम रूप लिन सक्छ । 

चीनदेखि युरोपसम्म पुग्दा कोरोना भाइरस फरक–फरक रूपमा पुगेको डा. धिमालले बताए । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार नेपालमा संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेर्दा युरोप र भारतबाट आएकाहरू बढी छन् । युरोपबाट आएका संक्रमितमा कडा भाइरस र भारतबाट आएकामा सामान्य देखिएको छ । ‘यस्तो के कारणले भयो वा योभन्दा बाहिर अरू केही कारण छ कि भनेर खोज्ने प्रयास भइरहेको छ,’ डा.धिमालले भने । 

नयाँपत्रिका दैनिकामा समाचार छ । 

विज्ञहरूका अनुसार कोरोना भाइरसका सात प्रजाति छन् । तिनैमध्ये कोभिड–१९ रोग पनि एक हो । अन्य देशमा देखिएको भाइरससँग नेपालको तुलना पनि गरिनेछ ।

पहिलो संक्रमितको नमुना अवैध रूपमा विदेश पठाइयो 

नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका ३२ वर्षका युवाको संकलित नमुना गैरकानुनी रूपमा विदेशी संस्थालाई अनुसन्धान गर्न पठाएको पाइएको छ । चीनको वुहानबाट आएका ती युवामा गत ९ माघमा संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य अनुसन्धानका लागि कुनै पनि नेपाली नागरिकको नमुना विदेश पठाउनुपूर्व नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृति लिनुपर्छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले दुई महिनाअघि पहिलो संक्रमितको नमुना अनुमतिविना बाहिर पठाएको फेला परेको बताए । विनाअनुमति विदेशी संस्थालाई अनुसन्धान गर्न नमुना पठाएको भन्दै परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, डाक्टरद्वय डा. रञ्जित शाह र डा. हेमन्तचन्द्र ओझा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाका पूर्वनिर्देशक डा. विवेककुमार लाल र कोरोना उपचारमा संलग्न डा. अनुप बाँस्तोलालाई स्पष्टीकरण सोधेको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हङकङ, बेलायत, साउदी अरब र जापानका विज्ञ पनि नेपाली युवाको नमुनाको अनुसन्धानमा सामेल थिए । परिषद्ले स्पष्टीकरण सोधेपछि डा. शाहले भने परिषद्का पदाधिकारीलाई भेटेर गल्ती स्विकारेको स्रोतले जनाएको छ । 

सदस्यसचिव डा. ज्ञवालीका अनुसार नेपालमा देखिएको भाइरसको प्रभावकारिता जाँच गर्नका लागि यो जिन आवश्यक पर्छ । उनले भने, ‘नेपालीको जिन यहीँ सुरक्षित हुनुपर्छ, यो विभिन्न औषधि भ्याक्सिनहरू बनाउनका लागि प्रयोग गरिन्छ । अनुमति लिएर लगेको जिनबाट औषधि वा कुनै भ्याक्सिन बनाएमा त्यस्तो कम्पनीले केही वर्षसम्म निःशुल्क औषधि वा भ्याक्सिन नेपाललाई दिनुपर्छ ।’ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*