क्वारेन्टाइन बस्न नमान्ने क्याम्पस प्रमुखलाई गलहत्याएर भारतमै पठाउन प्रशासनको निर्देशन

हेटौडा न्युज
२ जेष्ठ २०७७, शुक्रबार २३:५१
;

पश्चिम नवलपरासीको त्रिभुवन क्याम्पसका प्रमुखले नै क्वारेनटाईन बस्न अटेर गर्दै आएका छन् । केही दिन अघि भारतबाट नवलपरासी आएका क्याम्पस प्रमुख मनोजधर दुवेले क्वारेनटाईन बस्न अटेर गरेका हुन् । 

पश्चिम नवलपरासीको बेलाटारीस्थित त्रिभुवन क्याम्पसका प्रमुख दुवे क्याम्पसको क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने भन्दै अडान लिएका छन् । दुवेले क्याम्पसको क्वारेन्टाइनमा नबसी होम क्वारेन्टाइनमा बस्ने अडान लिएपछि क्याम्पस प्रमुख बाहिर हिडडुल गर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । 

दुई दिनअघि सोही क्याम्पसको क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना पुष्टि भएको थियो । गाउँपालिकाले सोही क्याम्पसमा क्वारेन्टाइन बनाएको छ ।

भारतबाट आएको जानकारी पाएपछि प्रशासनले उनलाई क्वारेन्टाइनमा लैजान लागेको थियो । तर राजनीतिक दबाबले उनलाई त्यसै छाडिएको स्थानीयले बताएका छन् । 

भारतबाट आउने जो कोही पनि घरमा नभई संस्थागत क्वारेन्टाइनमा बस्नु पर्ने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताएका छन् । क्याम्पस प्रमुखले क्वारेन्टाइनमा बस्न अटेरी गर्दै आएको र लकडाउन उल्लघन गरेको आरोपमा कारबाही हुने प्रजिअ दाहालले बताए । प्रजिअ दाहालका अनुसार क्याम्पसको क्वारेन्टाइनमा नबसे गलहत्याएर भारतमै पठाउनु भनेर प्रहरीलाई निर्देशन दिइएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*