कोरोनाबाट मृत्यु भएकाको कसरी गरिन्छ शव व्यवस्थापन ?
कोरोना भाइरसबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ ।
यही कार्यविधि अनुसार नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको शनिबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ ।
कार्यविधिले मृतकको जथाभावी सदगतलाई पनि निषेध गरेको छ । शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।
मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।
६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।
चैत्र २५ गते जारी उक्त कार्यविधिमा मृृतकका आफन्तले शव हेर्न चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।
त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।