पत्रकारलाई बागमती प्रदेशको कोरोना बिमा

हेटौडा न्युज
१९ जेष्ठ २०७७, सोमबार १८:४७
;

मकवानपुर । कोरोना संक्रमणको जोखिम बढ्दै गएको समयमा बागमती प्रदेश सरकारले फ्रन्‍टलाइनमा खटिने संचारकर्मीको कोरोना बिमा गरिदिने भएको छ । बागमती प्रदेशका आनतरी मामिला तथा कानुन मन्त्री सालिकराम जमरकट्टेलले प्रदेशका एक हजार पत्रकारहरुको कोरोना बिमा गरिदिने बताएका हुन् ।

विश्वभर महामारीको रुपमाम फैलिएको कोरोना सक्रमण बढ्दै गएको बेला जोखिमको समना गर्दै फ्रन्‍टलाइनमा बसेर काम गर्ने पत्रकारहरुलाई एक लाखको कोरोना बिमा गर्न लागिएको मन्त्री जमरकट्टेलले बताए ।

प्रदेशका विभिन्न संचारमाध्यममा काम गर्ने करिब ५ हजार ५ सय भन्दाबढी सञ्चारकर्मीहरु मध्ये प्रदेश सरकारले फ्रन्टलाइनमा रहेर काम गर्ने एक हजमार सञ्चारकर्मीहरुको कोरोना बिमा गर्ने तयारीमा प्रदेश सरकार लागेको उनले बताए । सरकारले प्रदेशका सबै पत्रकारको गर्न नसके पनि फ्रन्टलाइनमा काम गर्ने केहि सञ्चारकर्मीहरुलाई प्रोत्साहन स्वरुप यो बिमा कार्यक्रमको तयारी गरेको उनको भनाई छ ।

मन्त्री जमरकट्टेलका अनुसार प्रदेशका १३ जिल्ला मध्ये उपत्यका बाहिरका १० जिल्लालाई महासंघको सदस्यताको आधारमा जिल्ला जिल्लामा बिमा गर्ने पत्रकारहरुको संख्या तोक्ने व्यवस्था गरीएको छ ।

बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाका अनुसार तोकिएको संख्या र मापदण्डभित्र रहेर जिल्ला पत्रकार महासंघको सिफारिसमा प्रदेश र उपत्यका महासंघको समन्वयमा एक साताभित्रमा कोरोना बिमा गर्नेछ । प्रदेश पत्रकार महासंघ र उपत्यका पत्रकार महासंघको समन्वयमा फ्रन्टलाइनमा खटिएर संचारकर्म गर्दै आएका पत्रकारहरुको कोरोना बिमा गरिने सापकोटाले बताए ।

सापकोटाले प्रदेश सभाको गतिविधि प्रत्यक्ष प्रसारण र प्रकाशन गर्ने सञ्चारमाध्यमहरुलाई प्रदेश सरकारले १५ लाख ४० हजार रुपैयाँ विनियोजित गरेको बताए । यसबाट प्रदेशमा रहेका सञ्चारमाध्यमहरुलाई केहि राहत हुनसक्ने सापकोटाले विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*