बजार खोल्ने माग संघकै नियमावली विपरित, सिडिओले अनुमति नदिने

हेटौडा न्युज
१९ जेष्ठ २०७७, सोमबार १९:२३
;

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी यही जेष्ठ २१ गते देखि हेटौंडा बजार खोलेर व्यवसाय सञ्चालन गर्न अनुमति दिन सरकारसँग माग गरेको निर्णय सार्वजनिक गरेको छ । संघले सुरक्षाका विधि अपनाएर बजार खुलाउन आग्रह गरेको हो ।

लगातारको लकडाउनको कारण व्यापार व्यवसायहरु धरासयी बनेको भन्दै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने धारणा व्यक्त गरेको छ । व्यवसायीहरुको समस्यालाई बेवास्ता गर्दै भन्दै संघले जेठ २१ गतेबाट बजार खुलाउने तयारी गरेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिएको थियो ।

तर संघले गरेको आग्रह संघकै नियमावली विपरित रहेको छ । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको दर्ता गर्ने क्रममै जिल्ला प्रशासन कार्यालयमा पेश गरेको नियमावलीमा “प्रचलित कानून नबाझिने गरी र सरकारले गरेको निर्णयलाई अक्षरस पालना गर्ने” भन्ने उल्लेख गरेको तर्फ भने संघले नजर अन्दाज गरेको देखिएको छ ।

संघले आफैले उल्लेख गरेको नियमावली अनुसार पनि सरकारले आगामी जेष्ठ ३२ गतेसम्म गरेको लकडाउनको पालना गर्नुको विकल्प छैन ।

संघले प्रशासनलाई बजार खुलाउने अनुमति माग गरिए पनि प्रशासनबाट सम्बोधन नभएकाले बाध्य भएर जेष्ठ २१ गतेबाट बजार खुलाउने माग गर्नुपरेको संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताएका छन् ।

यस सम्बन्धमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सरकारले गरेको निर्णय विपरित अत्यावश्यक बाहेक अन्य क्षेत्र सुचारु गर्न अनुमति दिन नसकिने बताएका छन् । अत्यावश्यक सामग्री किनमेलका लागि स्थानीय प्रशासनले बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टा बजार खोल्न अनुमति दिदैं आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*