प्रधानमन्त्रीले लकडाउनबारे विज्ञसँग छलफल गर्ने

हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १३:२१
;

मकवानपुर । लकडाउनको मोडालिटी परीवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओली विज्ञहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटीका बारेमा छलफल गर्न विज्ञहरूलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न ४ बजे छलफल हुने बताइएको छ ।

सरकारले गत चैत ११ गते देखि देशभर लकडाउन जारी छ । पछिल्लो समय थपिएको लकडाउनको समय जेठ ३२ गते सकिदै छ । लकडाउनका कारण पारेको असर तथा आगामी योजनाका बारे छलफल गर्न प्रधानमन्त्रीले स्वास्थ्य, अर्थ तथा सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बालुवाटार बोलाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले लकडाउन आवश्यक रहेपनि यसको स्वरूप परिवर्तन गर्ने विषयमा छलफल चलिरहेको बताए ।

छलफलमा डाक्टर स्वर्णिम वाग्ले, डाक्टर भगवान कोइराला, डाक्टर सन्दुक रुइत, डाक्टर शंकर शर्मा, रामेश्वर खनाल लगायतका विज्ञहरू संलग्न हुनेछन् ।

कोरोनाले पारेको आर्थिक, सामाजिक लगायत सबै क्षेत्रको समीक्षा हुने र आगामी योजनाका लागि विज्ञहरूले प्रधानमन्त्रीलाई सल्लाह दिनेछन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलवार पनि उद्योगी व्यवसायीहरूसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसदमा बोल्ने क्रममा विषय विज्ञहरूसँग छलफल गरेर यसका बारेमा आवश्यक निर्णय लिने बताइसकेका छन् ।

पछिल्लो समय कुनै तयारीविनै लकडाउनको अवधि बढाएको भनेर सरकारमाथि आलोचना भइरहेको छ । कोरोनाले भन्दा पनि अन्य कारणले मृत्युको संख्या बढ्न सक्ने भन्दै जनस्वास्थ्य विदहरूले सरकारलाई चेतावनी दिँदै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*