जसपामा तीन अध्यक्ष, आजै दल दर्ता गर्ने
काठमाडौं । पछिल्लो समय नेतृत्वका लागि विवाद रहेको जनता समाजवादी पार्टी (जसपा) ले ३ जना अध्यक्ष रहने गरी आफ्नो विवाद मिलाएको छ । पार्टीमा पाँच जना पदाधिकारी रहने समेत निर्णय गरेको जनाएको छ ।
जसपाले महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई गरी त्रिअध्यक्ष रहने निर्णय गरेको छ ।
पार्टीले वरिष्ठतम् नेतामा राजेन्द्र महतो र अशोक राईलाई पार्टी पदाधिकारी बनाउने भएको छ भने, अन्यको नाम सार्वजनिक गरेको छैन ।
पार्टीमा अध्यक्ष र पदाधिकारीको टुङ्गो लागेसँगै नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाने भएका छन् । गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको थियो ।
नेपालको संविधानको राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण घोषणा गरेको ४५ दिनभित्र दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।