‘जनस्वास्थ्य संकटकाल’मा विना प्रतिस्पर्धा स्वास्थ्य सामग्री खरिद

हेटौडा न्युज
२५ जेष्ठ २०७७, आईतवार १८:३६
;

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जनस्वास्थ्य संकटकाल’ लागू भएपछि विना प्रतिस्पर्धा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामाग्री खरिद गर्ने प्रस्ताव अघि सारेको छ ।

मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न र स्वास्थ्य सचिवलाई उच्च अधिकारी तोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यसअनुसार जनस्वास्थ्य संकटकाल घोषणा गरेपछि केके गर्ने रु के नगर्ने भन्ने कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको छ ।

कार्यविधिमा जनस्वास्थ्य संकटकालको अवधिमा कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद गर्दा सार्वजानिक खरिद ऐनको कानून आकर्षित नहुने उल्लेख रहेको मन्त्रालयका एक अधिकारीले बताए ।

‘अन्य ऐन कानुनमा जे उल्लेख भएतापनि स्वास्थ्य संकटकालमा कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री गरिद गर्दा सरकारले निर्देशन दिए अनुसार खरिद गर्न सकिनेछ’ ती अधिकारीले भने, ‘यसले सरकारलाई चाहिएको सामान छिटो आउँछ ।’

जनस्वास्थ्य सेवा ऐनको दफा ४८ को उपदफा ४ मा बमोजिम एकभन्दा बढी प्रदेशमा महामारी उत्पन्न भएमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।

मन्त्रालयले गत मे मा जारी गरेको हेल्थ इमर्जेन्सी रेस्पोन्स प्लानमा पनि २ हजार संक्रमित कटेको अवस्थामा जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ । त्यसअनुसार मन्त्रालयले बुधबार ‘जनस्वास्थ्य संकटकाल’ घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले बनाइरहेको कार्यविधिअनुसार जनस्वास्थ्य संकटकालमा निजी अस्पताल र त्यहाँका जनशक्ति सरकारले चाहे अनुसार परिचालन गर्न सक्छ भने समुदायमा संक्रमण फैलिएको छ–छैन भन्ने थाहा पाउन आरडीटीबाट ‘मास स्क्रिनिङ’ पनि गर्न सक्छ । यस्तै प्रदेश र स्थानीय सरकारहरुले पनि आपतकालीन स्वास्थ्य योजना बनाएर लागू गर्नुपर्ने उल्लेख छ ।

‘जनस्वास्थ्य संकटकालसम्बन्धी कार्यविधि हामीले तयार पारेका छौं । मन्त्रिपरिषदले पास गरेपछि त्यहीअनुसार काम हुन्छ’ एक अधिकारीले भने । उनकाअनुसार जनस्वास्थ्य संकटकाल कुन क्षेत्रमा गर्ने र कहिलेसम्म गर्ने भन्ने संक्रमणको दर हेरेर निर्धारण हुनेछ ।

अनलाइन खबरमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*