ट्रक व्यवसायीको मागः लकडाउनमा सवारी चलेन, ब्याज मिनाहा गरिपाऊ

मकवानपुर । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेपछि सवारी साधनहरु थन्किएर बसेका छन् । सवारी साधन नचलेपछि आम्दानी पनि भएन तर, बैंकबाट ऋण लिएर किनेको सवारीको बैंक ब्याजले भने व्यवसायीलाई छोडेन ।
बैंक तथा वित्तीय संस्थाबाट बैंक ब्याज, किस्ता तिर्न बैंकहरुले ताकेता गर्न थालेपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा हस्ताक्षरित पत्रमा लकडाउनका कारण यातायात सञ्चालनमा नरहेको तर सवारी साधन बैंक तथा वित्तीय संस्थाबाट ऋण गरी खरीद गरिएकोले मानवीयताका लागि पनि लकडाउन अवधिलाई शुन्य समय मानी बैंक ब्याज मिनाहाको पहल गरिदिन आग्रह गरिएको छ ।
पत्रमा यातायात क्षेत्रलाई सरकारले सेवामूलक व्यवसाय भनेतापनि आव २०७७।७८ को बजेट वक्तव्यमा मूल्य अभिवृद्धि कर यथावत राखिएकोले सो प्रावधान हटाईदिन आग्रह गरिएको छ ।
सरकारले लागू गरेको यस प्रावधान अनुसार मालबाहक सवारीको हकमा कार्यान्वयन गर्नै समस्या देखिएको उल्लेख गरेका छन् ।
लकडाउनको समयमा पनि अत्यावश्यक सामग्रीहरुको ढुवानी याथावत रहेको अवस्थामा ती सवारीका चालक, सहचालकको स्वास्थ्य सुरक्षा, विमा लगायतको सुविधा प्रति राज्य गम्भीर नभएको गुनासो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यातायात व्यवसायीहरुले केही दिन अघि पनि आफ्नो क्षेत्रको समस्याका बारेमा बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाललाई पनि ज्ञापन पत्र बुझाएका थिए ।
आज नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई सहित यातायात व्यवसायीहरुको टोलीले मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।