२० केजी मल कृषकलाई प्रसाद भो, कृषि क्रान्ति गफैमात्र

मकवानपुर । हेटांडामा कृषि ममलको अभाव भएको छ । सरकारले कृषकहरुका लागि समयमा कृषि बालीमा लगाउने रासायनिक मल उपलब्ध नगराउँदा कृषकहरु मारमा परेका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजारमा आज कृषि मल लिनका लागि कृषकहरुको लामै लाइन लागेको थियो । मकवानपुरको विभिन्न ठाउँबाट हेटौंडामा मल किन्न कृषकहरु दिनहु धाउने गरेका छन् । तर कृषि बाली लगाउने बेलामा नै यसरी मल अभाव हुँदा कृषकहरु वर्षेनी समस्यामा पर्दै आएका छन् ।
सरकारले कृषि सामग्री संस्थान मार्फत स्थानीय सहकारीहरुलाई मल उपलब्ध गराउँदै आएको छ । तर स्थानीय कृषकहरुले बालीमा लगाउने रासायनिक मल कतै नपाएपछि हिजो हेटौंडामा प्ले कार्ड सहित सरकारको विरोध भएको थियो ।
विरोध प्रदर्शनपछि उनीहरुले हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामासंग छलफल गरी मल उपलब्ध गराउने आश्वासन त पाए तर प्रर्याप्त मल भने पाएनन् ।
स्थानीय सरकारले कृषिका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको लागि अघिल्लो वर्षको तुलनामा बजेट पनि बढि छुट्याएको उपमेयर लामाले बताइन् ।
हिजो कृषकहरुले हेटौंडा बजारमा विरोध कार्यक्रम गरेपछि उपमेयरको समन्वयमा २ सय ६० बोरा रासायनिक मल त उपलब्ध भयो तर त्यो मल मकवानपुरका कृषकका लागि प्रसाद वितरण जस्तै भयो । बिहान ४ बजे देखि प्रति कृषक २० के.जी मल लिनका लागि भोक, तिखा सबै सहेर हेटौंडा–४ को कृषि सहकारीको सटर ढुकेर बस्नु पर्ने बाध्यता सृजना भयो ।
बिहान ४ बजेदेखि कृषकहरु हेटौंडा–४ मा रहेको कृषि सहकारीमा लाईन लागेका थिए । तर लाईनमा बस्न पुगेका सबैलाई मल नपुग्ने भएपछि केहीबेर तनाब समेत भएको थियो । प्रहरीले करीब ६ सय ५० जनालाई मात्रै पुग्छ बाँकी कृषक लाईनमा नबस्नुस् भने पछि मल जसरी पनि पाउनुपर्ने भन्दै कृषकहरु विवाद समेत उत्रिएका थिए ।
सरकारले कृषि क्रान्तिबाट मात्रै विकास सम्भव छ भनिरहँदा यसरी कृषकहरुले समयमा बीऊविजन , मल नपाउनु दुःखद पक्ष हो । समयमा कृषकहरुलाई आवश्यकीय वस्तु उपलब्ध नगराउने हो भने हामीले भन्दै आएको कृषि क्रान्ति गफमा मात्रै सिमित हुने प्राय निश्चित छ ।