आर्थिक वर्ष २०७७/७८ को बजेट बहुमतले पारित

काठमाडौं । संसदबाट आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले १५ जेठमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो।
आगामी आर्थिक वर्षका लागि सरकारले १४ अर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको थियो। अर्थमन्त्री डा। युवराज खतिवडाले २०७७/७८ का लागि १५ जेठमा प्रतिनिधि सभामा उक्त बजेट पेस गरेका थिए ।
अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर संसदमा प्रस्तुत गरेपछि सत्तारूढ दल नेकपाका सांसदहरूले त्यसको पक्षमा मत राखेका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसँगै अन्य विपक्ष दलले विनियोजन विधेयकको विपक्षमा मत राखेका थिए।
यसअघि बसेको बैठकमा सांसदहरूले विनियोजन विधेयकमाथि राखेका खर्च कटौतीका प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो।
सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षमा विश्वव्यापी महामारीलाई चिर्दै ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएको छ। १४ खर्ब ७४ अर्ब ६४ करोडको कूल बजेट ल्याएको सरकारले ९ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याएको छ।
त्यसैगरी, सरकारले पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रूपैयाँ छुट्याएको छ।