चालक नै नभएको कार्यालयमा सवारी, बर्षौदेखि बेवारिसे

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा ल्याबसहितको मोवाईल भ्यान चौरमा थन्किएर बसेको छ । बजारमा खाद्यवस्तु अनुगमन गर्दा सोही बखत अनुगमन गरिएकै स्थानमा क्वीक टेष्ट गर्न ल्याबसहितको बा. १ झ ९७४८ नम्बर यो सवारी सो कार्यालयलाई दातृ निकायको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपलब्ध गराएको थियो ।
तर सरकारी कार्यालयहरुले सार्वजनिक सम्पत्तिलाई कतिसम्म बेवारिसे र कामै नलाग्ने बनाउँछन् भन्ने अर्को नमूना सो भ्यानले समेत प्रष्ट बनाएको छ ।
चालकको दरबन्दी नै नभएको हेटौंडाको खाद्य प्रविधि कार्यालयमा सो प्रयोगशाला सहितको सवारीका लागि आवश्यक परीक्षण कीट, इन्धन र सवारी मर्मतको बजेट केही नभएकाले बर्षौदेखि व्यवारीसे बन्दै आएको छ ।
कार्यालय प्रमुख सोमकान्त रिजालले विभागले ल्याबसहितको मोवाईल भ्यान उपलब्ध गराएको तर आफ्नो कार्यालयमा चालकको दरबन्दी नै नरहेकोले थन्किएर बसेको स्वीकार गरेका छन् ।
सरकारले सर्वसाधारण नागरिकलाई अनिवार्य सवारी बीमा गराउने गरेको भएपनि सरकारी नम्बर प्लेटको यो भ्यान ५ बर्षदेखि नविकरण छैन भने बीमा समेत गरिएको छैन ।
हेटौंडाको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चौरमा बेवारिसे अवस्थामा रहेको खाद्य निरीक्षण ल्याबसहितको भ्यानको इन्जिन सहित टायर कुहिएर कामै नलाग्ने अवस्थामा पुगि सकेको छ ।
प्रयोगशालासहितको यस भ्यानको विषयमा विभागलाई पटक पटक ताकेता गर्दा पनि सुनुवाई नभएको बताईएको छ ।
चालकको दरबन्दी नै नरहेको उक्त कार्यालयममा विभाग सो भ्यान पठाउदा व्यवारीसे बन्न पुगेको छ । सो भ्यान प्रयोग विहिन बन्दा अनुगमनका क्रममा कार्यालयका प्राविधिकहरु बजारबाट खाद्य नमूना झोलामा बोकेर ल्यउँदै परीक्षण गर्दै आएका छन् ।
यसरी सरकारी संयन्त्रले सार्वजनिक सम्पत्तिलाई कतिसम्म बेवारिसे बनाउँछन् भन्ने प्रष्ट भएको छ ।