पर्यटन प्रवर्द्धनका लागि थाहामा गुरुयोजना निर्माण

हेटौडा न्युज
१३ असार २०७७, शनिबार १८:५५
;

मकवानपुर । मकवानपुरको पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि नगर पर्यटन गुरुयोजना निर्माण गरेको जनाएको छ । नगर क्षेत्रको पर्यटन विकास योजनाहरु गुरुयोजनाले पहिल्याएका क्षेत्रहरुमा आधारित भएर संचालन गरिने नगरको नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नगरस्तरीय पर्यटन विकास बोर्ड गठन गरीने भएको छ ।
नगरपालिकाले संघीय तथा बागमती प्रदेश सरकारसंगको सहकार्यमा चन्द्रागिरी–दामन–सिमभन्ज्याङ ट्रेकिङ ट्रेल र साइकल रुट निर्माण तथा निजी क्षेत्रको सहकार्यमा चित्लाङ–चन्द्रागिरी भन्ज्याङमा पार्क सहितको भ्यू टावर निर्माण गरिने जनाएको छ ।

नगरको नीती तथा कार्यक्रममा उल्लेख भए अनुसार दामन क्षेत्रमा सार्वजनिक जग्गा पहिचान गरी पर्वतीय सम्मेलन केन्द्र निर्माण कार्य गर्ने, ऋषेश्वर, गोरखनाथ, इन्द्रायणी, पाण्डुकेश्वर, कुटेश्वरी, बज्रवाराही, नन्दीकेश्वर, उन्मत्तेश्वर, चम्पकेश्वर, स्वच्छन्दभैरव, गालवेश्वर मन्दिर, गौखुरेश्वर, सितापाइला, झम्केश्वरी, बागेश्वरी, मनकामना, सेति गणेश लगायत अन्य धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माण, मूलाबारी चौरलाई राष्ट्रिय विभूति पार्क, कोटथुम्कीको पर्यटन प्रवद्र्धन गर्न डिपीआर तयार भइसकेको र निर्माण कार्यको थालनी गर्ने भएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा दामन पिकनिक स्पट, डाँडाबासको स्मारक पार्क पिकनिक स्पट, बाराही डाँडा पिकिनिक स्पटलाई स्तरीकरण गर्ने, सार्वजनिक जग्गाहरुको पहिचान गरी पर्यटन व्यवशाय संचालन गर्न जग्गा भाडामा उपलब्ध गराउन सम्बन्धीत निकायहरुमा पहल गर्ने लक्ष्य लिएको छ ।

पर्यटन प्रवद्धनका लागि विभिन्न संभाव्य स्थानहरुमा बञ्जिजम्प, प्याराग्लाइडिङ, रकक्लाइमिङ, जिप फ्लाइङ, जस्ता सहासिक पर्यटन व्यवशाय संचालन गर्न चाहने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउन, भिमफेदी–सिमभन्ज्याङ केवलकार संचालनको कार्य प्रारम्भ गर्ने, बज्रवाराहीमा थाहा संग्राहलय र चित्लाङमा पर्यटन सूचना केन्द्र निर्माण, पर्यटकहरुलाई सहज ढंगबाट थाहा नगरपालिका आवागमनको लागि चित्लाङ चन्द्रागिरी सडक र कुन्छाल कुलेखानी सडकको स्तरोन्नती गरी कालोपत्रे गर्ने कायलाई संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा सम्पन्न गर्ने, घरेलु उत्पादन बिक्रि वितरणको लागि कोशेली घरको निर्माण तथा संचालनका लागि अनुदान उपलब्ध गराउने, पर्यटकहरुको सुरक्षालाई सुरक्षा व्यवस्था, नगर क्षेत्रमा संचालनमा रहेका होमस्टेहरुको प्रवद्र्धन गरिने भएको छ ।

पर्यटकीय क्षेत्रहरुको विशेषता समेटीएको प्रचार सामाग्रीका लागि निजी क्षेत्रको समेत सहभागितामा निर्माण तथा वितरणलाई प्राथमिकता राखिएकको छ ।

सप्तकन्या गुफा, हाँडी दह, बाथानचुलीको भग्नावशेष दरबार, नर्बे ढुङ्गाको प्रचारप्रसार तथा विकासमा जोड दिइने भएको छ ।

महांकाल, लाली गुराँस र सुनगाभा पैदलमार्गलाई प्रवद्र्धन, मूर्तिकला, हस्तकलामा आधारित प्रवद्र्धनात्मक कार्य संचालन, अशोक कालिन चैत्य, लक्ष्मी प्रसाद चौतारो, लिच्छवीकालिन शिलालेख ऐतिहाँसिक दरबारहरु, गुम्बा र मठमन्दिरहरु संरक्षण तथा प्रवद्र्धन लगायत संभावित पर्यटकीय स्थलको पहिचान गरी निजी क्षेत्रसंगको सहकार्यमा विकास कार्य अघि बढाइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*